काठमाडाैं- जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजले काेराेना महामारीसँग जुध्न २ करोड सहयोग गरेको छ।
सामुदायिक अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न तथा देशका विभिन्न प्रदेशमा स्थानीय सामुदायिक संस्थाको अग्रसरतामा कोभिड १९ प्रभावित लक्षित समूहलाई आवश्यक पर्ने सामग्री खरिदका लागि उक्त सहयाेग गरिएकाे कम्पनीले जनाएकाे छ।
कम्पनीका अनुसार अक्सिजन, भेन्टिलेटर, आईसीयूलगायत अन्य स्वास्थ्य सामग्री खरिदको लागि पछिल्लो दुई हप्तामा दुई करोडको प्रत्यक्ष अनुदान प्रदान गरिएको हो।
कम्पनीले अक्सिजन प्लान्ट र आईसीयू विस्तारका लागि धुलिखेल अस्पताललाई एक करोड ३५ लाख सहयोग गरेको जनाएको छ। त्यसैगरी नेपालको विभिन्न प्रदेशहरुमा सामुदायिक समूहको प्रयासको लागि सहयोगस्वरुप ७५ लाख प्रदान गरिएको कम्पनीले जनाएको छ।
यसअन्तर्गत नेपाल भेन्टिलेटर सर्भिसलाई हाई फ्लो क्यानुलास (ननइन्भ्यासिभ) भेन्टिलेटर खरिद गर्न, वीरगञ्ज महानगरपालिकामार्फत वीरगञ्ज, पर्सामा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न, ललितपुर महानगरपालिका र ज्यापु समाजको सहयोगमा ललितपुरका रोटरी क्लबहरुमार्फत सञ्चालित आइसोलेसन सेन्टरका लागि उपकरण र सामग्री खरिद गर्न, विराटनगर, मोरङमा अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनको लागि रोटरी क्लब अफ विराटनगर युनिकलाई सहयोग गरिएको कम्पनीले जनाएको छ।
त्यसैगरी, रोटरी क्लब अफ बिर्तामोडलाई झापामा अक्सिजन बैंक सञ्चालन गर्न सहयोग गरेको कम्पनीले रोटरी क्लब अफ धनगढीलाई धनगढी, कैलालीमा अक्सिजन बैंक सञ्चालन गर्न पनि सहयोग गरेको जनाएको छ।
त्यस्तै, लायन्स क्लब अफ बुटवलमार्फत बुटवल, रुपन्देहीमा अक्सिजन ग्यास भर्ने कार्यको लागि सहयोग गरिएको, रोटरी क्लब अफ भैरहवामार्फत भैरहवा, रुपन्देहीमा सञ्चालित आइसोलेसन सेन्टरका लागि उपकरण खरिदमा सहयोग, भैरहवा चेम्बर अफ कमर्समार्फत रुपन्देहीमा सञ्चालित अक्सिजन ग्यास भर्ने कार्यको लागि सहयोग तथा देशभरि आफ्नो ग्राहक तथा स्थानीय समुदायको लागि पाँच लाख फेस मास्क वितरण गरेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।