काठमाडौं- बहुमत सांसदको हस्ताक्षर बोकेर शीतल निवास पुगेका विपक्षी गठबन्धनका नेताहरुको राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट हुन सकेको छैन।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षसहित विपक्षी गठबन्धनका नेताहरुले नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाएसँगै शीतलनिवास पुगेका थिए।
उनीहरु प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ताव लिएर शीतलनिवास पुगेका भएपनि राष्ट्रपतिसँग भेट हुन नसकेको हो।
माओवादी स्थायी कमिटी सदस्य गिरिराजमणि पोख्रेलले आफूहरुले राष्ट्रपतिलाई भेट्न नपाएको जनाएका छन्।
देउवा, माधव कुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, उपेन्द्र यादव लगायत १५ नेता शीतलनिवास पुगेका हुन्।
कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधवकुमार नेपाल पक्षका शीर्ष नेताहरुको बैठकले नयाँ सरकार गठनका लागि हस्ताक्षर जुटाएको हो।
देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा १४९ जना सांसदको हस्ताक्षर जुटेको नेताहरुले बताएका छन्। माधव नेपाल पक्षका २७ जना सांसदले हस्ताक्षर गरेका छन्। यस्तै कांग्रेसका ६१, माओवादीका ४९ र जसपाका १३ सांसदले हस्ताक्षर गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार २१ घण्टाको समय दिएर शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।