काठमाडौं– सर्वोच्च अदालतले आज धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहलाई कालोसूचीबाट हटाउन नेपाल राष्ट्र बैंकलाई आदेश दिएपछि त्यहाँको चुनावी नतिजाका विषयमा अन्योल उत्पन्न भएको छ । उनी कालोसूचीमा रहेको पाइएपछि निर्वाचन आयोगले उम्मेदवारी रद्द गर्ने निर्णय लिएको थियो ।
उम्मेदवारी खारेजीका बाबजुद धनुषा १ मा साहलाई सबैभन्दा बढी मत परेको थियो । तर आयोगले नियमानुसार उनको चुनावचिन्ह घन्टीमा आएको भोटलाई बदर मानेर दोस्रो स्थानमा रहेका नेकपा उम्मेदवार मातृका यादवलाई विजयी प्रमाणपत्र दिएको छ । तर, आजको आदेशपछि यादवको प्रमाणपत्र खोसिनसक्ने अवस्था देखिएको छ ।
साहले आफूलाई कालोसूचीबाट हटाउन माग गर्दै राष्ट्र बैंकविरुद्ध रिट हालेका थिए । आज उक्त रिटविरुद्ध आदेश आएको हो । निर्वाचन आयोगले यादवले गरेको निर्णयविरुद्धमा उनले हालेको अर्को रिटको पेशी भोलिलाई तोकिएको छ । सर्वोच्चले भोलि आयोगलाई छलफलका लागि बोलाएको छ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले धनुषा १ को विषयमा भोली टुंगो लाग्ने बताए । आज भएको अन्तरिम आदेश बमोजिम नै भोली पनि आदेश आएको खण्डमा यादवले पाएको प्रमाणपत्र रद्द हुन सक्ने उनको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।