काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले निर्वाचन आचारसंहिता उल्लंघन गरेको प्रकरणमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि कारबाहीको माग गरेका छन्।
राष्ट्रिय सभाको उपनिर्वाचनका लागि मौन अवधि लागू भइसकेको अवस्थामा एमाले उम्मेदवार रामबहादुर थापा (बादल)को पक्षमा मत मागेको र मतदातालाई चेतावनीयुक्त शब्द समेत प्रयोग गरेको भन्दै प्रचण्डको सचिवालयले ओलीमाथि कानुनानुसार कारबाही हुनुपर्ने माग गरेको छ।
प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले मौन अवधिधमा सार्वजनिक वक्तव्यमार्फत अमुक उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दै मतदातालाई दिएको 'धम्की'ले आचारसंहिताको गम्भीर उल्लंघन भएको बताएका छन्।
'केपी शर्मा ओली नेकपा (एमाले)का अध्यक्ष मात्र नभएर नेपाल सरकारका प्रधानमन्त्री समेत हुनुहुन्छ। स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व हो। यस विपरीत सरकार प्रमुखले नै अमुक उम्मेदवारलाई विजयी गराउन मतदाताहरुलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु, स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको आधारभूत सिद्धान्तको खिलाफमा छ,' महराले जारी गरेको वक्तव्यमा भनिएको छ।
महराले जारी गरेको वक्तव्यमा निर्वाचन स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न हुन्छ भन्ने विषयमा समेत प्रश्न उठाइएको छ।
'यस्तो स्थितिमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छ ? प्रधानमन्त्रीको यस कार्यको निन्दा र भत्र्सना गर्दै आवश्यक कारवाहीका लागि निर्वाचन आयोग समक्ष आग्रह गर्दछु,' वक्तव्यमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।