काठमाडौं- गण्डकी प्रदेश सरकारमा नियुक्त मन्त्रीले शपथ लिएका छन्। प्रदेश प्रमुख सिता कुमारी पाैडले नवनियुक्त चार मन्त्रीलाई बुधबार दिउँसो पद तथा गोपनीयताको शपथ दिलाइन्।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो मन्त्रिमण्डलमा पुरानै अनुहार दोहोर्याएका छन्। किरण गुरुङले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यस्तै, रामशरण बस्नेत भौतिक पूर्वाधार मन्त्री, नरदेवी पुन सामाजिक विकास र विकास लम्साललाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिइएको छ। आज यी चार मन्त्रीले शपथ लिएका हुन्।
'विवादित' सांसद दीपक मनाङेलाई मुख्यमन्त्री गुरुङले युवा तथा खेलकुद मन्त्रीमा दोहोर्याएका हुन्। तर, गुरुङ काठमाडाैंमा रहेकाले बुधबारको शपथ समारोहमा सहभागी हुन पाएनन्। उनी पोखरा फर्किएछि शपथ गराइने मुख्यमन्त्री कार्यालयले जनाएको छ।
विपक्षी गठबन्धनले सरकार बनाउन नसकेपछि गुरुङ सबैभन्दा धेरै सांसद रहेकाे संसदीय दलको नेताका रुपमा पुन: मुख्यमन्त्री नियुक्त भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।