काठमाडौं- प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता विपरीत राष्ट्रिय सभाको उपनिर्वाचनका लागि आफ्नो पार्टीका उम्मेद्वारका पक्षमा मत मागेको पाइएको छ।
ओलीले बुधबार एक विज्ञप्ति निकालेर एमालेका उम्मेद्वार रामबहादुर थापा (बादल)को पक्षमा मत मागेका थिए। निर्वाचन आयोगले भने जेठ ६ गते, बिहीबार हुने बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि जेठ ३ गते (सोमबार) रातिदेखि नै मौन अवधि शुरु भएको जनाएको छ।
मानै अवधिको उल्लंघन हुने गरी प्रधानमन्त्रीले बादलको पक्षमा मत मागेपछि निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ।
‘अयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचारसंहिता विपरीत व्यक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चारमाध्यमहरुले उम्मेद्वारको जित-हारको पूर्वानुमानका सामग्रीहरु प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरुको अन्तर्वार्ता लिने जस्ता गतिविधिहरु गरेको देखिएकाले यसतर्फ गम्भीर रुपमा ध्यानाकर्षण भएको छ,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ।
निर्वाचनको सिलसिलामा राजनीतिक दल, सार्वजनिक निकाय तथा सञ्चारमाध्यम लगायतले पालना गर्नुपर्ने आचारसंहिता समेत लागू भइसकेको सन्दर्भमा आचारसंहिता विपरीतका क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयताप्रति नै आघात पार्ने पनि आयोगले जनाएको छ।
आयोगले निर्वाचन आचारसंहिता विपरीत कार्य गर्नेविरुद्ध कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी समेत दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।