काठमाडौं– बैंक तथा वित्तीय संस्थाले कोभिड १९ को उपचारमा सहयोग गर्न सक्ने भएका छन्। राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत अक्सिजन तथा त्यससँग जोडिएका सामग्री सहयोग गर्न सक्ने व्यवस्था गरेको हो।
बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै उक्त व्यवस्था गरेको हो।
राष्ट्र बैंकको गरेको व्यवस्था अनुसार संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत खर्च हुने रकमलाई अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर र भ्याक्सिन खरिदमा प्रयोग गर्न सकिनेछ।
यसबाट कोरोना पीडितको उपचारमा सहयोग पुग्ने केन्द्रीय बैंकको विश्वास छ। केन्द्रीय बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै भनेको छ, ‘संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छुट्याएको कोषको रकम जीवन रक्षा, सार्वजनिक हित तथा परोपकारी कार्यलाई प्राथमिकता दिनेगरी त्यस्तो योगदान देशभर नै उपलब्ध हुने व्यवस्था मिलाइनेछ।’
सोही बुँदमा थप स्पष्ट पार्दै अगाडि भनिएको छ, ‘हालको विषम परिस्थितिलाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले उक्त कोषको रकम अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर जीवन रक्षक भ्याक्सिन, औषधि आदि कार्यमा खर्च गर्न सक्ने व्यवस्था मिलाइने छ।’
त्यसैगरी, राष्ट्रिय महत्त्वका आविष्कार केन्द्र तथा मानव सेवा जस्ता परोपकारी कार्यमा गरेको खर्च समेत उक्त कोषबाट हुने खर्चमा गणना गर्न सकिने राष्ट्र बैंकको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।