काठमाडौं- मेटलाइफ फाउन्डेसनले अमेरिका-नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) लाई नेपालमा कोभिड-१९ महामारीबाट प्रभावित असहाय व्यक्तिहरूका लागि आवश्यक चिकित्सा सेवा प्रदान गर्न ५० हजार अमेरिकी डलर अनुदान दिने भएको छ।
एएनएमएफ सन् १९९७ देखि देशमा विशिष्ट स्वास्थ्य सेवालाई टेवा पुर्याउने दृष्टिकोणका साथ नेपाली चिकित्सकहरूद्वारा स्थापना गरिएको एक गैरनाफामूलक संस्था हो।
मेटलाइफ फाउन्डेसनको सो अनुदानबाट एएनएमएफलाई देशका विभिन्न स्थानमा सञ्चालित आइसोलेसन केन्द्र तथा अस्पतालहरूमा उच्च बहावको अक्सिजन उपकरण तथा कन्सन्ट्रेटर लगायत अन्य आवश्यक स्वास्थ्य सामग्री आपूर्ति गर्न सहज हुनेछ। उच्च संख्यामा बढिरहेका गम्भीर अवस्थाका बिरामीहरूका कारण हाल देशको चिकित्सा प्रणालीमा दबाब परिरहेको हुँदा यस्तो समयमा यो अनुदानले एएनएमएफलाई स्वास्थ्य सेवा पूर्वाधारमा पर्ने भार न्यूनीकरण गर्न थप सक्षम बनाउन मद्दत गर्ने फाउन्डेसनको भनाइ छ।
‘आवश्यकताको यस घडीमा हामी सबै अहिलेको विश्वव्यापी महामारीबाट प्रभावित मानिसहरूको स्वास्थ्य र जनहितका लागि हरसम्भव प्रयास गरिरहेका छौं,’ मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘मेटलाइफ विश्वास गर्दछ कि हामी सबै मिलेर यस जटिल परिस्थितिलाई बदल्न सक्दछौं र म गर्व गर्दछु कि मेटलाइफ फाउन्डेसनले यस कठिन समयमा जनताको पीडा कम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै सार्थक सहयोगसमेत प्रदान गरिरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।