काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय महाधिवेशन स्थगित भएको छ।
कोरोना भाइरस (कोभिड १९) महामारीको बढ्दो प्रभावलाई मध्यनजर गर्दै राप्रपाले महाधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरेको हो। तत्कालीन ३ पार्टीको एकता पछि बनेको राप्रपाले यही जेठ २२ देखि २५ गतेसम्म सम्पन्न गर्नेगरी महाधिवेशनको मिति निर्धारण गरेको थियो।
राप्रपाका तीनजना अध्यक्ष कमल थापा, पशुपति शमशेर जबरा र डा प्रकाशचन्द्र लोहनीसहितको शनिबार बसेको बैठकले हाललाई महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।
महाधिवेशनको अर्को मिति भने तय भइसकेको छैन। उपयुक्त समयमा तोक्ने निर्णय भएको राप्रपाको केन्द्रीय सचिवालय प्रमुखद्वय ध्रुब बहादुर प्रधान र भास्क भद्राले उक विज्ञप्ती जारी गरी जानकारी दिएका छन्।
राप्रपाको शनिबार बसेको बैठकले कोरोना भाइरसको संक्रमण रोक्न स्वदेश र विदेशमा कुटनीतिक पहल गरी अन्तर्राष्ट्रिय सहयोग जुटाउन समेत सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।