काठमाडौं- सूर्य नेपाल प्रालिले काठमाडौंका तीन सरकारी अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ। कम्पनीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टर र निजामती कर्मचारी अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।
ती स्वास्थ्य सामग्रीमा ल्याटेक्स पञ्जा, सर्जिकल मास्क, अनुहार ढाक्ने फेसशिल्ड, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र अक्सिमिटर रहेको कम्पनीले जानकारी दिएको छ। यी स्वास्थ्य सामग्रीहरू सम्बन्धित अस्पतालका कार्यकारी निर्देशकहरूलाई शुक्रबार हस्तान्तरण गरिएको थियो। उक्त स्वास्थ्य सामग्री ६५ लाख रूपैयाँ बराबरको भएको कम्पनीले जनाको छ।
स्वास्थ्य सामग्री हस्तान्तरण र वितरणको कार्यलाई ती अस्पतालमा कार्यरत चिकित्सकहरूको प्रतिनिधित्वसहित काठमाडौंस्थित एउटा गैरनाफामूलक संस्था ईजीबीओसाले सहजीकरण गरेको थियो।
‘विद्यमान कोभिड-१९ महामारीको दोस्रो लहरले मुलुकको स्वास्थ्य प्रणालीमा पारेको उल्लेख्य दबाबलाई विचार गरी यस प्रकारको संकटको घडीमा कम्पनीले अन्य विभिन्न क्रियाकलापहरूसमेत सञ्चालन गर्ने योजना रहेको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘यस वर्षको सुरूआतमा नै कम्पनीले प्रत्येक प्रदेशलाई एक करोड रूपैयाँका दरले कूल सात करोड रूपैयाँ रकम प्रदेशहरूमा स्थापनामा गरिएको ‘कोभिड-१९ उपचार तथा नियन्त्रण कोष’ मा योगदान गरेको थियो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।