काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको काममा भ्रम छर्ने र जनतामा निरासा फैलाउने काम भएको दाबी गरेका छन्। सरकारले काम गरेको तर, जनतामा भ्रम फैलाउने काम भइरहेको उनले दाबी गरेका छन्।
शुक्रबार प्रधानमन्त्रीको रुपमा शपथ लिएलगत्तै उनले जिम्मेवारी सम्हाल्दै उनले सरकारका कामविरुद्ध गलत प्रचार भएको बताएका हुन्। कोरोना नियन्त्रणमा पनि सरकारले धेरै काम गरेको तर, प्रचार भने जनतालाई निरास गराउनेतर्फ भएको उनको आरोप छ।
उनले अस्पतालहरुमा अक्सिजन कमि भएकोप्रति सरकार गम्भीर रुपमा काम गरिरहेको दाबी गरे। उनले सरकार नागरिकको जीवन बचाउने कुरामा गम्भीर रहेको भन्दै उचित व्यवस्थापन गर्न नचुक्ने दाबी पनि गरे। उनले नीजि अस्पतालहरुलाई नागरिकको उपचारबाट पछि नहट्न आग्रह गरे।
नीजि क्षेत्र , सवै अस्पतालहरु यति बेला सेवाको भावना सर्वाधिक राखेर काम गर्न उनले आग्रह गरे। संकटको बेला सेवाको भावना बढी आवश्यकता पर्ने भन्दै उनले एक अर्कामा सहयोगको हात बढाउने र स्वार्थभन्दा परोपरकारी प्रवृत्तिलाई बढवा दिन आवश्यकता रहेको बताए।
‘यसमा नीजि अस्पताल र क्षेत्रहरुलाई तथा उपकरण सम्बन्धी क्षेत्रहरु आफ्नो जिम्मेवारीबोधका साथ अग्रसर हुन आग्रह गर्दछु’ ओलीले भने ‘ हाम्रा सबै अक्सिजन उत्पादनका डिपोहरु पूर्ण क्षमतामा चल्नुपर्छ। यसकारण चलेन भन्ने हुँदैन। सबैले हामीलाई कति गम्भीर रुपमा हेरेका छन्। यस्तो बेलामा पनि देश र जनताप्रति चिन्तित नहुने प्रवृत्ति स्वीकार हुन सक्दैन।’
मुलुकमा शान्ति देख्न नचाहने शक्तिहरु अहिले पनि प्रतिगमन देख्छन्
प्रधानमन्त्री ओलीले मुलुकमा शान्ति देख्न नचाहने शक्तिहरुले अहिले पनि देशमा प्रतिगमन नै देख्ने गरेको टिप्पणी गरे। संविधान र कानुन अनुसार चल्न नदिने तत्वहरु अहिले पनि देशमा रहेको उनको भनाइ छ।
‘आफूले सरकार बनाउन नसक्नु र अरुले बनाउनु प्रतिगमन यस्तो तथाकथीत क्रान्तिकारी चस्माबाट हेर्छन्’ ओलीले भने ‘जनतालाई अहिले पनि भ्रममा पार्न खोजेका छन्। प्रतिगमनका विरुद्ध एकजुट हौं भनेका छन्।’
उनले सबै राजनीतिक दल र कार्यकर्तालाई महामारीमा एकजुट हुन आग्रह गरे। ‘यो समयमा आफ्नो रोटी सेक्न खोज्नु उचित होइन’ ओलीले भने ‘देशमा अहिले सबै मिलेर महामारीसँग लड्नुपर्ने आवश्यकता रहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।