काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा एमाले भित्रको आन्तरिक विवाद सुल्झिने दिशामा गएकोप्रति ‘खुसी’ व्यक्त गरेका छन्।
प्रचण्डकी स्वकीय सचिव एवम् छोरी गंगा दाहालका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भएको समझदारी पछि पार्टी फुटबाट जोगिएकोमा प्रचण्डले सकारात्मक प्रतिक्रिया दिएका हुन्।
एमालेको विभाजन टरेकोतर्फ संकेत गर्दै गंगाले सामाजिक सञ्जालमा लेकेही छन्, ‘पार्टीहरु फुटेको भन्दा जुटेको राम्रो होः कमरेड प्रचण्ड।’
पार्टीहरु फुटेको भन्दा जुटेको राम्रो हो: कमरेड प्रचण्ड
Posted by Ganga Dahal on Thursday, May 13, 2021
प्रधानमन्त्री ओलीले ५ पुस २०७७ मा प्रतिनिधि सभा विघटन गरेपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगेको थियो। तत्कालीन नेकपामा प्रचण्ड र माधव कुमार नेपाल तथा केपी शर्मा ओलीको बेग्ला बेग्लै समूह थियो।
सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलाले नेकपाको एमाले र माओवादी केन्द्र साबिककै दलका रुपमा पुनःस्थापित भएका थिए।
एमाले ब्यूँतिएपछि ओलीले २८ फागुनमा पार्टी केन्द्रीय कमिटीको बैठक राखेर वरिष्ठ नेता नेपालसहितका नेताहरुको जिम्मेवारी खोसेका थिए। २८ फागुन पछि शुरु भएको एमाले भित्रको विवाद बिहीबार आएर मिल्ने दिशामा अगाडि बढेको नेताहरुले बताएका छन्।
बिहीबार अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भएको भेटवार्तामा ६ बुँदे सहमति भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।