काठमाडौं- नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकको आधारमा घ्यु तथा तेलको मूल्य झन्डै २२ प्रतिशतले बढेको छ। गत चैतको तुलनfमा घ्यु तथा तेलको मूल्यमा २१ दशमल ३८ प्रतिशतले बढेको हो।
उदाहरणका लागि अघिल्लो चैतमा १ सय रुपैयाँ पाइने तेल तथा घ्यु खरिदका लागि अहिले १ सय २२ रुपैयाँसम्म लगानी गर्नुपर्ने छ।
यसैगरी, मासु तथा माछा, सुर्तिजन्य पदार्थ र गैर-मदिराजन्य पेय पदार्थको मूल्य पनि बढेको छ। माछा तथा मासुमा १२.६१ प्रतिशत, सुर्तिजन्य पदार्थमा १०.४१ प्रतिशत र गैर-मदिराजन्य पदार्थमा १०.१८ प्रतिशतले मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ।
२०७७ चैत महिनामा काठमाडौं उपत्यकामा ३.२४ प्रतिशत, तराईमा २.९२ प्रतिशत, पहाडमा ३.३८ प्रतिशत र हिमालमा १.५४ प्रतिशत मुद्रास्फीति रहेको छ ।
२०७६ चैतमा यी क्षेत्रहरुमा क्रमशः ७.१९ प्रतिशत, ७.०४ प्रतिशत, ५.८४ प्रतिशत र ४.८३ प्रतिशत मुद्रास्फीति रहेको थियो। २०७७ चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.१० प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.७४ प्रतिशत रहेको थियो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.४९ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.७९ प्रतिशत रहेको छ।
थोक मुद्रास्फीति भने २०७७ चैतमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ६.१४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.७७ प्रतिशत रहेको थियो।
समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.४२ प्रतिशत, ५.८४ प्रतिशत र ३.७० प्रतिशत रहेको छ। समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ५.९६ प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।