काठमाडौं- नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षका सांसदहरुले आफूहरु सांसदबाट राजीनामा दिने निर्णयमा पहिल्यै पुगिसकेको र उपयुक्त समय आएमा राजीनामा दिने बताएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको दुई वा दुई भन्दा धेरै दलको बहुमतीय सरकार गठनका लागि बहुमत नपुगेको र त्यसका लागि नेपाली कांग्रेसले नेपाल पक्षको सहयोग खोजिरहेको पृष्ठभूमिमा नेपाल पक्षले आवश्यक पर्दा राजीनामा दिन तयार रहेको बताएको हो।
नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले छलफल तीब्र पारेका छन्। तर, जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादवपक्ष नयाँ गठबन्धन सरकार निर्माणमा केन्द्रित भएपनि जसपाकै महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष त्यसको विपक्षमा उभिँदा गठबन्धनका पक्षमा बहुमत पुग्न सकेको छैन।
नेपाल पक्षका सांसदले राजीनामा गरेमा आफ्नो नेतृत्वमा गठबन्धन सरकार निर्माण गर्न बहुमत पुग्ने कांग्रेसका नेताहरुले बताउँदै आएका छन्। नेपाल पक्षले भने राजीनामा कहिले गर्ने भन्ने कुरा गौण भएको बताएको छ।
'आवश्यक पर्दा राजीनामा दिने भन्ने पार्टीको निर्णय हो, त्यो भइसकेको छ। त्यसमा हामी अडिग छौं', नेपाल पक्षका सांसद जीवनराम श्रेष्ठले नेपाल लाइभसँग भने, 'राजीनामा पत्रमा कति जनाले हस्ताक्षर गर्ने वा कहिले हस्ताक्षर गर्ने भन्ने ठूलो कुरा होइन।'
गत वैशाख २४ गते नेपाल पक्षका स्थायी कमिटी सदस्य र सांसदहरुको बैठकले आवश्यक परेका बेला सामूहिक राजीनामा दिने निर्णय गरेको थियो। श्रेष्ठले आफूहरु त्यसमा अडिग रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।