काठमाडौं- नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरहरुले आफूहरुलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयत्न गरेको र एमालेलाई विभाजित गर्न लागेको टिप्प्णी गरेका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै उनले आफूहरुले 'आत्मसमर्पण नगर्ने' समेत प्रष्ट पारेका छन्।
भुसाल एमालेमा ओलीविरुद्ध मोर्चाबन्दी गरेका वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेता एवं रुपन्देहीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्।
'हिजो प्रचण्डलार्ई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो, आज झलनाथ–माधवलार्ई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ', उनले लेखेका छन्, 'आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनर्स्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन।'
भुसालले विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद रहेको उल्लेख गर्दै लेखेका छन्, 'तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।