काठमाडौं– जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी एकताबद्ध हुनुपर्ने बताएका छन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर संयुक्त सरकार बनाउने प्रयास भैरहेको बेला जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरद्वारा आफूहरु वैकल्पिक सरकार गठनको पक्षमा नभएको धारणा सार्वजनिक भएसँगै भट्टराईको यस्तो टिप्पणी आएको हो।
मंगलबार राति सामाजिक सञ्जालमार्फत नेता भट्टराईले जसपा जस्तो अग्रगामी शक्तिले एकताबद्ध ढंगले देशलाई राजनीतिक निकास दिनबाट चुक्नु नहुने बताएका छन्।
‘जसपा जस्तो अग्रगामी शक्तिले एकताबद्ध ढंगले देशलाई राजनीतिक निकास दिनबाट चुक्नुहुन्न,’ उनले भनेका छन्, ‘लोकतान्त्रिक पार्टीमा फरक मत हुनु स्वभाविक हो। तर हाम्रो आन्तरिक विवादले देशलाई अनिर्णयको बन्दी बनाउनुहुन्न।’
पार्टीका नेताहरुलाई एक भएर धारा ७६ को २ अनुसार सरकार बनाउन योगदान गर्न उनले आग्रह गरेका छन्। ‘पार्टी एकताबद्ध भएर धारा ७६ (२) को सरकार बनाउन योगदान गरौं! सौताका रिसले पोइको नाक काटे झैं नगरौं!,’ उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।