काठमाडौं- प्रतिनिधि सभाबाट विश्वासको मत पाउन नसकेर पदमुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कामचलाउ भएको छ। राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर अर्को सरकार गठन नभएसम्मका यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी तोकेको जनाएको छ।
‘अर्को मन्त्रिपरिषद् गठनन नभएसम्म नेपालको संविधानको धारा ७७ को उपधारा (३) बमोजिम यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी तोक्नुभएको छ,’ सोमबार जारी विज्ञप्तिमा भनिएको छ।
संविधानको धारा ७७ (३) मा प्रधानमन्त्रीको पद रिक्त भएमा अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने उल्लेख छ।
प्रधानमन्त्री ओलीले सोमबारको प्रतिनिधि सभामा प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावमा ९३ मत मात्रै परेको थियो। आवश्यक १३६ मत नपुग्दा प्रस्ताव असफल भएको थियो। जसअनुसार उनी पदमुक्त भइसकेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा दाबी गर्नका लागि बिहीबार साँझ ९ बजेसम्मको समय दिएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।