काठमाडाैं- प्रतिनिधि सभाको विशेष अधिवेशन आज (सोमबार) मध्यरातिबाट अन्त्य हुने भएको छ।
संसद सचिवालयले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गरेकाले राति १२ बजेबाट अधिवेशन अन्त्य हुने जनाएकाे हाे।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेकाे थियाे।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जारी गर्दै राष्ट्रपतिले वैशाख २७ गते (सोमबार) राति १२ बजेदेखि अन्त्य गरेकाले संसद अधिवेशन अन्त्य भएको जानकारी दिएका छन्।
यसअघि सोमबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक वैशाख ३० गते दिनको १ बजे गरी निर्धारण गरिएको जानकारी दिएका थिए।
राष्ट्रपतिले अधिवेशन अन्त्य गरेकाले वैशाख ३० गते बस्ने गरी निर्धारण गरिएको बैठक समेत स्वतः अन्त्य भएको सचिव योगीले जानकारी दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार प्रतिनिधि सभाको अधिवेशन आह्वान गरिएको थियाे।
प्रधानमन्त्री ओली प्रतिनिधि सभामा विश्वासको मत लिन असफल भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।