काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभामा विश्वासको मत लिन असफल भएपछि संसद अधिवेसन अन्त्यको पत्र लिएर राष्ट्रपति भवन शीतलनिवास पुगेका छन्।
संसदमा विश्वास गुमाएपछि मन्त्रिपरिषद बैठक डाकेका प्रधानमन्त्री ओलीले सदन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गराएका थिए।
ओली राष्ट्रपति भवन पुगेपछि अहिले कानुनी विषयमा परामर्श भइरहेको शीतलनिवास स्रोतले जानकारी दिएको छ।
अब सरकार गठनका लागि अबलम्बन गर्ने प्रक्रियाका बारेमा कानुनी परामर्श भइरहेको राष्ट्रपति विद्यादेवी भण्डारीको सचिवालयका एक अधिकारीले जानकारी दिए।
‘अब संविधानको धारा ७६ को उपधार (२) अनुसार सरकार गठनका लागि आह्वान गर्ने कि उपधारा (३) अनुसार अगाडि बढ्ने भन्ने विषयमा छलफल र परामर्श हुँदैछ,' ती अधिकारीले भने।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले कानुनविद्हरुसँग शीतलनिवासमै परामर्श गरिरहेका ती अधिकारीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।