काठमाडौं– राष्ट्रिय जनमोर्चाका एक सांसदले निर्णय लिन नसक्दा गण्डकी प्रदेशमा विपक्षी दलले बहुमत दाबी गर्ने पक्रिया रोकिएको छ।
जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा कांग्रेस नेतृत्वको नयाँ सरकारप्रति अनिच्छुक देखिएका छन्। कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादीले दिनभर जनमोर्चाको निर्णय कुरेका थिए।
कांग्रेस प्रदेश सांसद विष्णु लामिछानेले भने,' जनमोर्चाका तीन सांसदको हस्ताक्षर गरेर ल्याउनु भनेका हौं। उहाँहरुको हस्ताक्षर नआउँदा बहुमत सांसदले प्रदेश प्रमुख कहाँ हस्ताक्षर बुझाउने कार्य रोकियो।'
सरकारमा नजाने निर्णय गरेको जनमोर्चाले यसअघि अविश्वासको प्रस्तावमा मतदान भए पक्षमा मतदान गर्ने वचन दिएको थियो। जनमोर्चा भित्र नै दुई समुह देखिएपछि विपक्षी गठबन्धनले सोमबार बहुमत सिद्ध गरी प्रदेश प्रमुख कहाँ जान सकेनन्।
जनमोर्चाका संसदीय दलको नेता थापा विपक्षी गठबन्धनप्रति सन्तुष्ट छैनन्। सोही दलकी सांसद पियारी थापा भने पार्टीको निर्णय नै नयाँ सरकार बनाउने गठबन्धनको पक्षमा रहेको बताइन्।
प्रदेश प्रमुख सीता पौडेलले दलहरुलाई उपलब्ध गराएको समय अवधि मंगलबार सकिँदैछ। जनमोर्चाले मंगलवारबारसम्म विपक्षी गठबन्धनसँगै आउने निर्णय गर्ने अन्य दलको अपेक्षा छ।
बहुमतका लागि कांग्रेस, माओवादी केन्द्र,जनमोर्चा र जसपाका सबै सांसद आवश्यक पर्दछ। चार दलका गरी प्रदेश सभामा ३१ सांसद छन्। बहुमतका लागि त्यति नै सङ्ख्या आवश्यक पर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।