काठमाडौं- नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने आफ्नो पार्टीका सांसदलाई कारबाही गरिने बताएका छन्।
प्रतिनिधि सभाको बैठकपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले आफनै दलबाट मत नदिनु ऐतिहासिक घटना भएको बताए। उनले आफ्नै पार्टीभित्रबाट मतदान नहुनुलाई गम्भीर रूपमा लिएको बताए।
‘पार्टीको विधान अनुसार उनीहरूलाई कारबाही प्रक्रिया शुरु हुन्छ। पार्टी विधान र राजनैतिक दल सम्बन्धी ऐन अनुसार चल्छौं’, भट्टराईले भने, ‘कारबाही गर्न पार्टी केन्द्रीय समितिको बैठक पनि बस्नुपर्छ। कारबाहीको प्रक्रिया अघि बढाउँछौं।’
उनले अब आफूहरू हामी प्रतिपक्षमा बस्न तयार रहेको पनि बताए। सोमबार प्रतिनिधि सभाको बैठकमा भएको मतदानमा प्रधानमन्त्रीले मागेको विश्वासको मतको पक्षमा ९३ मत मात्र पर्यो। प्रस्तावको विपक्षमा १२४ मत खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।