काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि शुरु भएको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेको नेपाल पक्षका सांसदहरु अनुपस्थित भएका छन्।
सोमबार बिहान सिंहदरबारमा बसेको नेपाल समूहका सांसदहरुको बैठकले प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको थियो।
बिहानको सोही निर्णयानुसार नेपाल समूहका सांसदहरु संसद बैठकमा अनुपस्थित भएका हुन्। नेपाल समूहका सांसदहरु उपस्थित नभएपछि प्रतिनिधि सभामा सत्तारुढ दल एमालेको सिटहरु खाली छन्।
तर, संसद बैठकमा नेपाल पक्षका कतिजना सांसद अनुपस्थित भए भन्ने खुलेको छैन।
सोमबारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले विश्वासको मत मागेका छन्। प्रधानमन्त्री ओलीले विश्वासको मत मागेपछि अहिले विश्वासको मत माग्ने प्रस्तावमाथि छलफल शुरु भएको छ।
छलफल सकिएपछि विश्वासको मतमाथिको मत विभाजन प्रक्रिया शुरु हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।