काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद झपट रावलले पार्टी एकताका लागि गरिएका सबै प्रयास असफल भएको बताएका छन्।
उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई छिन्नभिन्न बनाउन चाहेको र एकताका लागि कुनै पहल नगरेको टिप्पणी समेत गरे।
सिंहदरबारस्थित संसद् सचिवालयमा नेपाल पक्षको बैठकमा सहभागी हुने क्रममा सांसद रावलले भने, ‘हामीले अन्तिमसम्म पनि पार्टी एकताका लागि प्रयत्न गरको हौं। तर, केपी ओली कमरेडबाट पार्टी एकताका लागि कुनै पहल, प्रयत्न भएन। एकता भन्दा अझै भाँड्ने काम भयो।’
उनले ओली नै एकताको विपक्षमा रहेको आरोप पनि लगाए। ‘यो कम्युनिष्ट पार्टीलाई छिन्नभिन्न गर्ने दिशातिर स्वयं मुल नेतृत्व जानुभयो। दुःखका साथ भन्नुपर्छ एकताका लागि गरिएका सबै प्रयास असफल भए।’
सामूहिक राजीनामाको तयारीमा रहेका नेपाल पक्षका सांसदहरु अहिले सिंहदरबारमा भेला भएका छन्। नेपाल पक्षले ओलीलाई बिहान ९ बजेसम्मको समयसीमा दिएको थियो। उक्त समयमा ओलीबाट कुनै पहल नभएपछि यो पक्षका सांसद राजीनामा दिने तयारीमा पुगका हुन्।
संसद् सचिवालयको बैठक सकिएपछि सामूहिक राजीनामा दिने तयारी रहेको सांसद मेटमणि चौधरीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।