काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन्। उनले विश्वासको मत लिन बोलाएको प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै छ।
आजको संसद बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीको विश्वासको मत समेटिएको छ। यसअघि सम्पन्न कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गरेको हो।
बैठकको सुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ।
त्यसैगरी आजको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने कार्यतालिका तय भएको छ। आजकै बैठकमा विश्वास प्रस्तावउपर कारबाही प्रक्रिया अघि बढ्नेछ।
पछिल्लो राजनीतिक अवस्था हेर्दा प्रधानमन्त्री ओलीलाई विश्वासको मतका लागि चाहिने आवश्यक संख्या भने नपुग्ने देखिन्छ। प्रधानमन्त्री पदमा कायम रहन ओलीले १ सय ३६ सांसदको समर्थन लिनुपर्नेछ ।
कुल २ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा एमालेको १ सय २१ सिट छ। प्रमुख प्रतिपक्षी कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९, जनता समाजवादी पार्टीका ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसद १/१ सांसद छन्
एमालेकै माधव–झलनाथ समूहले ओली पक्षमा मतदान नगर्ने संकेत गरिसकेको छ भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन्।
माधव–झलनाथ समूहले आज ९ बजेसम्म ओलीको निर्णय पर्खने र त्यसपछि सामूहिक राजीनामा दिने चेतावनी दिएका छन्।
जनता समाजवादी पार्टी (जसपा)ले पनि मत नदिने संकेत गरिसकेको छ। तर, जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव समूहले विश्वास मतको विपक्षमा मतदान गर्ने जनाएका छन्।
यसैबीच, प्रतिनिधिसभामा आज हुने मतदानमा ओलीको प्रस्तावको पक्षमा मत दिन एमालेले ह्वीपसमेत जारी गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।