मुम्बई- भारतीय गाडी उत्पादन कम्पनी मारुती सुजुकीले उत्पादन एक साताको लागि स्थगित गर्ने भएको छ। कोरोना भाइरस महामारीको दोस्रो लहरसँगै कम्पनीले उत्पादन काम १६ मेसम्म स्थगित गरेको हाे।
काम स्थगित गर्ने समयलाई कम्पनीले ‘प्लान्ड मेन्टेनेन्स’ समय बताएको छ अर्थात् पूर्व निर्धारित मर्मत समय बताएको हो।
पूर्व योजना अनुरुप मे ९ अर्थात् आइतबारदेखि काम पुनः सुरु गर्ने भनिएको थियो। तर, देशमा काेराेना महामारी झनै बढ्दै गएपछि कम्पनीले थप एक साता अझै उत्पादन काम रोकेकाे हाे।
भारतीय सञ्चारमाध्यमका अनुसार कम्पनीको उत्पादन कारखाना भएको ठाउँ हर्याना सबैभन्दा बढी कोरोना प्रभावित क्षेत्रमध्ये पर्छ।
केही समय अघि सुजुकीले उत्पादन कारखानाबाट काम बन्द गराएर कारखानामा प्रयोग हुने अक्सिजन स्वास्थ्य सेवा र चिकित्सा क्षेत्रका लागि उपलब्ध गराएको थियो।
मारुती सुजुकीका अध्यक्ष आरसी भार्गवले चार पाङ्ग्रेको माग घट्ने आकलन गरेका छन्। रिपोर्ट अनुसार गाडीको माग मार्चमा भन्दा अप्रिलमा ७ प्रतिशतले घटेको छ।
‘विभिन्न ठाउँमा जारी निशेधाज्ञा, लकडाउन र कर्फ्युहरूका कारण गाडी डिलरहरू बन्द छन्। यसले गर्दा गाडीको बिक्री घट्दो छ। त्यसैले उत्पादन नै कम गर्ने सोचेका छौं, भार्गवले भने, ‘अहिलेको अवस्थामा गाडी किन्ने ग्राहक पनि घटेका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।