काठमाडाैं– एमालेभित्र जारी विवाद मिलाउन सक्रिय रहेका दोस्रो तहका नेताहरुले अन्तिमसम्म कसरत जारी राख्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपाल–झलनाथ खनालका बीचमा देखिएको मतभेद समाधान गरेर पार्टी एकीकृत हुनुपर्ने भन्दै दोस्रो तहका नेताहरुले केही दिनदेखि सक्रियता देखाइरहेका छन्।
दोस्रो तहका नेताहरुले प्रधानमन्त्री ओली, राष्टपति विद्यादेवि भण्डारी र माधव नेपालसँग भेटेर सहमतिको विन्दु खोजि गरिरहेका छन्। उनीहरुले दोस्रो तहकै नेताहरुका बीचमा पनि छलफल तिव्र पारेका छन्।
वैशाख २७ गते प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत लिन अधिवेशन आह्वान भएकाले त्यसअघि नै पार्टीलाई एक ठाउँमा उभ्याउने प्रयासमा उनीहरु रहेका छन्। शनिबार पनि यही पहलका लागि दोस्रो तहका नेताहरुको बैठक बस्दै छ।
दोस्रो तहका नेताहरुको बैठकमा सक्रिय रहेका नेता गोकर्ण विष्टले आशा राखेर अन्तिमसम्म मिलाउने कसरतमा काम भइरहेको बताए। ‘आज पनि भेटेर छलफल गर्ने कुरा छ कति वेला र कहाँ भन्ने निश्चित छैन,’ उनले भने, ‘एमाले एक भएर जानका लागि एउटा सहमतिको विन्दु खोजी गरेर त्यसलाई शीर्ष तहमा पेश गर्ने प्रयास हो।’
चिरा परिसकेको एमालेलाई मिलाउन भन्दै प्रधानमन्त्री ओलीको पक्षबाट अर्थमन्त्री विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल सक्रिय छन्। त्यस्तै नेपालपक्षबाट स्थायी कमिटी सदस्य घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्ट लागिपरेका छन्।
शुरुमा जसपाले साथ दिन सक्ने आकलन गरेका प्रधानमन्त्री ओलीले त्यो सम्भव नहुने भएपछि पार्टीभित्र एकमत हुनुपर्ने दवावमा रहेका छन् । आफ्नै पार्टीका नेपालपक्षले साथ नदिए आफ्नो सरकार कुनै हालतमा नजोगिने अवस्था आएको छ भने अर्कोतर्फ पार्टीभित्र सबैलाई मिलाउनुपर्ने दबाब दोस्रो तहका नेताहरुले ओलीमाथि बढाएका छन्।
शुक्रबार गण्डकी प्रदेशका ११ जिल्ला अध्यक्षले सार्वजनिक रुपमै यसका निम्ति सामूहिक अपिल गरेका थिए। राष्ट्रपति भण्डारी पनि यो कार्यमा केही सक्रिय भएको देखिन्छ। ओलीले विश्वासको मत लिने निर्णय गरेपछि ओली नेपालवीच प्रत्यक्ष भेटघाट नभएपनि टेलिफोन संवाद भएको छ।
बिहीबार ओलीले नेपाललाई टेलिफोन गरी आफूलाई साथ दिन आग्रह गरेका थिए। त्यसअघि नेपाल संयुक्त सरकारको नेतृत्व लिनका लागि आग्रह गर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानीलकण्ठ पुगेका थिए। त्यहाँबाट उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गए।
राष्ट्रपतिकै पहलमा ओलीसँग उनको टेलिफोन संवाद भएको थियो । बिहीबार दिउँसो ओली क्याबिनेटका महत्वपूर्ण सदस्य, अर्थमन्त्री विष्णु पौडेलले सुरेन्द्र पाण्डे, गोकर्ण विष्टसँग काठमाडौको नागपोखरीस्थित होटल मेरियट होटलमा छलफल गरेका थिए।
शुक्रबार समेत एमाले मिलाउन दोस्रो तहका नेताहरु सक्रिय भए। प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकारसमेत रहेका एमाले केन्द्रीय सदस्य मोतीलाल दुगड वरिष्ठ नेता नेपाललाई फकाउन शुक्रबार दिउँसो उनकै निवास कोटेश्वर पुगेका थिए। त्यसपछि उनी नेपालनिकट नेता सोमप्रसाद पाण्डेसहित बालुवाटार गएका थिए।
शनिवारसम्म ओली र नेपालवीच भेटघाट भई विषयकेन्द्रित छलफल हुने दाबी दुगडले गरे। धेरै कुरा मिलिसकेको दाबी गर्दै दुगडले २७ गतेअघि नै परिणाम आईसक्ने बताउँदै आएका छन्। नेपाल पक्षले भने आफूमाथि एकलौटी रुपमा भएको कारवाही फिर्ता लिएर सहमतीको शुरुवात गनुपर्ने अडानमा रहेको छ । तर ओली त्यसका लागि तयार नहुदाँ समस्या भइरहेको छ।
त्यस्तै ओलीले आइतबार संवैधानिक परिषदको वैठक समेत राखेकाले माधव नेपाल पक्ष भने एकातिर वार्ताको कुरा गर्ने अर्कोतिर आफुखुशी अघि वढ्ने क्रम जारी राख्ने भन्दै असन्तुष्टि जनाई रहेको छ। नेपालले आजै एक विज्ञप्ति मार्फत संवैधानिक परिषदको वैठकप्रति असन्तुष्टि जनाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।