काठमाडौं– अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति नगर्न एमाले नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्।
प्रधानमन्त्री ओलीले आइतबारका लागि संवैधानिक परिषद्को बैठक बोलाएको सन्दर्भमा नेता नेपालले समाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैठकमा सहभागी नहुने बताइसकेका छन्।
अध्यादेशमार्फत् बलमिच्याइँ गर्न नहुने नेपालको भनाइ छ । उनले अहिले मुलुकको ध्यान कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुपर्नेमा पनि जोड दिएका छन्।
‘कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो,’ उनले पपेसबुकमा लेखेका छन्, ‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन।’
गलत बाटोबाट गरिने यस्ता नियुक्ति रोक्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित हुनसमेत उनले आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।