फाइल तस्बिर
काठमाडाैं- नेपाली कांग्रेसले कोभिड-१९ महामारीबाट जनताको जीवनरक्षा गर्नुपर्ने बेला सरकार स्वयं खोप खरिदको भ्रष्टाचारमा संलग्न हुनुले सरकारको अनैतिक चरित्र उदाङ्गो भएको बताएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति जारी गर्दै जनताको जीवनरक्षा गर्ने औषधिमासमेत भ्रष्टाचार गर्नु अमानवीयता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनताविरुद्धको अक्षम्य अपराध भएको आरोप लगाएका छन्।
'अहिले कमिसनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भइसकेको छ। सरकार सर्वत्र भ्रष्टाचारमा चुर्लुम्म डुबेको विषय नेपाली जनताका लागि नौलौ होइन। जनताको जीवनरक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीयता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनताविरुद्धको अक्षम्य अपराध हो। जनताको जीवनरक्षा गर्नुपर्ने सरकार स्वयं जीवनदायिनी औषधि (खोप) भ्रष्टाचारमा संलग्नु हुनुले यो सरकारको अनैतिक चरित्र उदाङ्गो भएको छ। सरकारको अनैतिक र भ्रष्टाचारजन्य कार्यको घोर निन्दा र भर्त्सना गर्दछु। यस्तो भ्रष्टाचारको काममा जोसुकै संलग्न भए पनि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछु,' विज्ञप्तिमा भनिएको छ।
नेपाली जनताको जीवनरक्षा गर्नका लागि देशभरि आवश्यक अक्सिजन, आईसीयू बेड, खोपलगायतका औषधिको तत्काल व्यवस्था गर्नसमेत कांग्रेसले माग गरेको छ। कांग्रेसले कोरोना महामारीको दोस्रो लहर भयावह बन्नुमा सरकार जिम्मेवार रहेकोसमेत आरोप लगाएको छ।
'विज्ञहरुले कोभिडको पटक-पटक लहर आउनसक्ने, जुनसुकै बेला जोखिम बढ्नसक्ने भनी दिएको चेतावनीलाई सरकारले सुनेन। सरकारले नियन्त्रण र रोकथामका लागि पर्याप्त समय हुँदाहुँदै पनि जनताप्रतिको आफ्नो न्यूनतम जिम्मेवारी बोध गरेन। समयमा कोभिड-१९ विरुद्धको खोपको व्यवस्था गरेन। फलस्वरुप अहिले नेपाल विश्वमा नै कोभिड-१९ को उच्च जोखिममा रहेका देशहरुमा गणना भएको छ। यस्तो अवस्था सिर्जना हुनुमा यो सरकार पूर्णरुपमा जिम्मेवार छ,' विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।