काठमाडौं- बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रिय सभाको उपनिर्वाचनमा आफ्नो तर्फको उम्मेदवारको जित सुनिश्चित गर्नेगरी छलफल अगाडि बढाउने एमाले स्थायी कमिटीले निर्णय गरेको छ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा जेठ ६ गते हुन गइरहेको निर्वाचनका विषयमा छलफल गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।
‘यो निर्वाचनमा नेकपा एमालेको उम्मेदवारलाई जिताउने गरी र जित सुनिश्चित हुनेगरी यसका तयारी गर्नका लागि नेताहरुले विभिन्न सुझावहरु दिनुभएको छ’, उनले भने, ‘हामीले तदनुरुप नै विभिन्न जनप्रतिनिधिहरुसँग कुराकानी गर्ने, कुराकानी अगाडि बढाउने र जितलाई सुनिश्चित हुनेगरी छलफललाई अगाडि बढाउने निर्णय गरेका छौं।‘
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सो निर्वाचनमा आफ्नो उम्मेद्वार भनेर यसअघि रामबहादुर थापा बादलको नाम घोषणा गरेका थिए। तर बिहीबारको बैठकपछि भने उम्मेदवार पछि टुंगो लगाउने प्रवक्ता ज्ञवालीले बताए। ‘उम्मेदवारको बारेमा हामी छिट्टै निर्णय गर्छौं’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।