काठमाडौं– कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ गर्न भनेर काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका क्रममा अत्यावश्यक कार्यका लागि घरबाहिर निस्किुनपर्नेको हकमा प्रशासन कार्यालयले थप व्यवस्था गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक कार्य जस्तै मृत्यु संस्कार, बिरामी तथा बिरामी कुरुवा र विवाहमा जाने व्यक्तिको हकमा पास जारी गर्ने लगायत विषयमा थप स्पष्ट पारिएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले विवाह ब्रतवन्धजस्ता संस्कारका हकमा १५ जनासम्म व्यक्ति र २ वटा सवारी साधन प्रयोग गरी ब्यानरका आधारमा जिल्लाभित्र वा अन्तर जिल्लामा आवत–जावत गर्न पाइने जनाएको छ।
मृत्यु संस्कारका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिन मृत्युदर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिस, परिचय खुल्ने कागजातको प्रतिलिपि सहितको निवेदन पेस गरिनुपर्ने जनाएको छ।
बिरामी तथा कुरुवाको हकमा काठमाडौं जिल्ला भित्रका बिरामी तथा कुरुवाहरुले अस्पतालको भर्ना कार्ड वा रिपोर्ट काडका आधारमा आवत–जावत गर्न पाउनेछन्।
यस्तै, आफन्त वा परिवारका सदस्य बिरामी भइ काठमाडौं बाहिर जानुपर्ने अवस्थामा पास लिनका लागि बिरामीको रिपोर्टकार्ड तथा भर्ना कार्डसहित परिचय खुल्ने कागजातको प्रतिलिपिसहित निवेदन दिनुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।
सुरक्षा गार्डको हकमा भने परिचय पत्र र पोसाक लगाएर ड्युटी आवत–जावत गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।