काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण रोकथामका लागि मुलुकको झण्डै दुई–तिहाई भुभागमा निषेधाज्ञा (लकडाउन) जारी रहेका कारण सरकारलाई वुझाउनु पर्ने कर राजश्वको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको लागि समय थप गर्न सरकारसँग अनुरोध गरेको छ।
महासंघले मंगलबार सरकारको सम्बन्धित निकायमा पत्राचार गरी अहिलेको विषम परिस्थितिलाई मनन गरी मूल्य अभिबृद्धि कर तथा अन्तःशुल्क, आय करको अग्रिम कर कट्टी लगायतका करहरूको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गरिदिन अनुरोध गरेको हो।
कोभिड महामारीका कारण दैनिक उपभोग्य बाहेकका व्यापार, व्यवसाय र सवारी आवागमन बन्द भएका, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरू समेत स्वास्थ्य संवेदनशीलताका कारण आवत–जावत गर्न नसकेकाले समयमा कर विवरण वुझाउन र कर रकम भुक्तानी गर्न नसकिने हुँदा समय थप गर्न महासंघले आग्रह गरेको हो।
अघिल्लो वर्षमा भएको लामो लकडाउन पछि तङ्ग्रिन शुरु गरेको व्यापार–व्यवसाय कोभिडको दोस्रो लहरका कारण पुनः जटिल अवस्थामा आइपुगेको महासंघले जनाएको छ। महासंघका अनुसार सार्वजनिक यातायातको सञ्चालन नभएको लगायतका कारणबाट उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् भने चलेका पनि अत्यन्त कम क्षमतामा सञ्चालित छन्।
महामारी कति लामो समय जान्छ यसै भन्न सक्ने अवस्था नहरेको अवस्थमा बन्दाबन्दीले अर्थतन्त्र चलायमान बन्न नसक्दा यससँग प्रत्यक्ष जोडिएकाको जीवनयापन कठीन बन्दै गएको महासंघको भनाइ छ।
साना–ठूला सबै तहका उद्योगी व्यवसायी, काम गरेर खाने श्रमिक कामदारहरू लगायत आम सर्वसाधारणको दैनिक जीवनयापन अत्यन्त कठीन बन्दै जाने यथार्थतालाई समयमै मनन गरी सरकारबाट उचित नीति सहितको सहयोग हुनुपर्ने पनि महासंघले माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।