काठमाडौं- नेकपा माओवादी केन्द्रले प्रदेश प्रमुख परिवर्तन गर्ने सरकारको कदमलाई निरंकुश प्रवृत्तिको नकारात्मक अभिव्यक्तिको रुपमा अर्थ्याएको छ। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको सो पार्टीको स्थायी कमिटी बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सो कदमको विरोध गर्ने निर्णय गरिएको जानकारी दिए।
‘हाम्रो पार्टीको यो बैठकले हालै मात्र दुई वटा प्रदेश प्रमुखहरुलाई जसरी बलजफ्ती, बिनाकारण, बिनाऔचित्य पदबाट मुक्त गरिएको छ र नयाँ नियुक्ति गरिएको छ। त्यसलाई संविधानको भावना, लोकतान्त्रिक मूल्य मान्यताको विरुद्ध स्वच्छाचारी, निरंकुश प्रवृत्तिको एउटा नकारात्मक अभिव्यक्ति ठान्दछ। यसको पार्टीले घोर विरोध र भर्त्सना गर्ने निर्णय गरेको छ,’ उनले भने।
सोमबारमात्रै सरकारले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई पदमुक्त गरी नयाँ नियुक्त गरेको थियो। ती दुवै प्रदेशमा माओवादी केन्द्रनिकटका प्रदेश प्रमुखहरु थिए। उनीहरुलाई पदमुक्त गरी प्रधानमन्त्री केपी ओली निकटकालाई जिम्मेवारी दिइएको छ।
माओवादीको आजको बैठकले पार्टीले समग्रतामा प्रधानमन्त्री केपी शर्मा ओलीको यो सरकार र उनको गुटले देशलाई एकपछि अर्को प्रतिगमनको दिशातिर लैजान योजनाबद्ध ढंगले कदम चालिरहेको पार्टीको निष्कर्ष झन्-झन् पुष्टि हुँदै गएको विश्लेषण गरेको छ। ‘संविधान र लोकतन्त्रको रक्षाका निम्ति सम्पूर्ण राजनीतिक पार्टी नागरिक समाज र सबै जनसमुदायलाई सचेत र एकताबद्ध रहन अपिल गर्ने निर्णय पनि गरेको छ,’ श्रेष्ठले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।