काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि भनेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट आह्वान भएको प्रतिनिधि सभाको अधिवेशन (बैठक)को उद्देश्य र आशा राम्रो नदेखिएको टिप्पणी गरेको छ।
संसदको नियमित (बर्खे) अधिवेशन बोलाउनुपर्ने समयमा प्रधानमन्त्रीले विश्वासको मत लिने विशेष प्रयोजनका लागि मात्रै संसद बैठक बोलाइनुले बैठकको उद्देश्य र आशा राम्रो नदेखिएको माओवादीको ठहर छ।
मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति वैठकपछि बोल्दै नेता नारायाणकाजी श्रेष्ठले अदालतको फैसलापछि विश्वासको मत लिनुपर्ने समयमा नलिएका प्रधानमन्त्रीले अहिले आएर विश्वासको मत लिन खोज्नुले आशंका उब्जाएको बताए ।
'राष्ट्रपति भण्डारीले वैशाख २७ गतेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि भनेर प्रतिनिधि सभाको वैठक बोलाउनुभएको छ, यो प्रधानमन्त्री ओलीको गलत राजनीतिक उद्देश्यका लागि देखिन्छ ’, श्रेष्ठले भने, ‘सर्वोच्च अदालतले फागुन २३ गते नेकपालाई विभाजन गरेर एमाले र माओवादी बनाएपछि यो सरकारले चैत २३ गतेभित्र नै विश्वासको मत लिनुपर्ने भनेर आवाज उठेको समयमा नलिने, तर अहिले अधिवशेन अन्त्य गरेपछि लिन खोजेकाले दलहरुले सचेततापूर्वक लिनुपर्ने देखिन्छ ।’
लिनुपर्ने समयमा छोड्ने अनि नियमित अधिवेशन बोलाउनुको सट्टा विशेष अधिवेशनको रुपमा संसद बैठक बोलाएर गलत कार्य गर्न लागेको श्रेष्ठले आरोप लगाए ।
संविधानले संसद बैठक ३ तरिकाले बोलाउन सकिने परिकल्पना गरेको भएपनि राष्ट्रपतिले वैशाख २७ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकका हकमा प्रधानमन्त्रीको अधिकार बाहिर गएर प्रयोग गरिएको श्रेष्ठले बताए ।
'संविधानले ३ तरिकाले संसद बोलाउने परिकल्पना गरेको छ। तर, राष्ट्रपतिबाट बोलाइएको प्रतिनिधिसभाको बैठक प्रधानमन्त्रीको अधिकार बाहिर गएर प्रयोग गरिएको देखिन्छ,' नेता श्रेष्ठले भने ।
सरकारले नियमित बर्खे अधिवेशन बोलाउने समय भएपनि राष्ट्रपतिबाट जारी भएको सूचना विश्वासको मत लिने विशेष प्रयोजन मात्रै देखिएको उल्लेख गर्दै श्रेष्ठले भने, 'विशेष अधिवेशन सांसदहरुको समावेदन पछि राष्ट्रपतिले बोलाउने संवैधानिक व्यवस्था छ।'
यसैबीच, माओवादी केन्द्रले केपी शर्मा ओली गुट एकपछि अर्को प्रतिगमनको दिशामा देशलाई लैजान योजनाबद्ध रुपमा लागेको आरोप समेत लगाएको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीका कदम रोक्न संविधान र लोकतन्त्र रक्षाका लागि नागरिक समाज बुद्धिजीवी सबैमा अपिल गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।