काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेशमा हालै गठन गरिएको नयाँ सरकारलाई असंवैधानिक घोषणा गरेको छ। माओवादीको मंगलबार बसेको स्थायी समितिको बैठकले नयाँ सरकार घोषणा प्रक्रिया अवैधानिक भएको निष्कर्ष निकालेको हो।
विपक्षीले आफूसँग बहुमत रहेको हस्ताक्षरसहित दाबी गरिरहेको अवस्थामा आइतबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले शंकर पोखरेललाई मुख्यमन्त्री घोषणा गरेका थिए। साथै, मुख्यमन्त्री कार्यालयमै पुगेर शपथ खुवाएका थिए। त्यस कदमको माओवादी केन्द्रले विरोध जनाएको हो।
‘लुम्बिनी प्रदेशमा अवैधानिक ढंगले नयाँ प्रदेश सरकार बनाइएको घोषणा गरिएको छ। त्यो पूर्ण रूपले अवैधानिक छ। र, लोकतान्त्रिक मूल्य, मान्यता र राजनीतिक नैतिकताको चरम उल्लंघन र स्खलन हो। त्यसैले हामी लुम्बिनी सरकार भनिएको कथित सरकारलाई अवैधानिक घोषणा गर्दछौं’, बैठकपछि नेता नारायणकाजी श्रेष्ठले भने।
श्रेष्ठका अनुसार माओवादी केन्द्रले लुम्बिनी प्रदेश सकारका विरुद्धमा प्रदेशमा रहेका संसद्भित्रका सकार बाहेक सबै पार्टीहरूले चालेका कदमलाई दृढ रूपमा समर्थन पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।