काठमाडौं– ई–कमर्स कम्पनीहरुको साझा संस्था ई–कमर्स संघ नेपालले होम डेलिभरी सेवालाई सहज बनाइदिन सरकारसँग आग्रह गरेको छ।
महामारीको समयमा भौतिक दुरी कायम गरी डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्दै गरिने सुरक्षित होम डेलिभरीका लागि प्रशासनमार्फत आवश्यक समन्वय हुनुपर्ने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
हाल स्कुलदेखि विश्वविद्यालय बन्द भई विद्यार्थीहरु घरमै स्वअध्ययन गर्न बाध्य हुनुपरेको अवस्थामा किताब एवम् स्टेसनरी सामानलाई पनि अत्यावश्यक वस्तुमा सूचीकरण गरी निर्वाध डेलिभरीको वातावरण बनाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ।
कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो हुने, स्पष्ट मूल्य हुँदा कालोबजारी नहुने, ५ मिनेटभन्दा कम समयमा भौतिक दुरी कायम गरी डेलिभरी गरिने कारण ई कमर्स सुरक्षित छ भन्ने कुरा बुझ्नु आवश्यक रहेको संघका अध्यक्ष सागरदेव भट्टले बताए ।
ई–व्यापार संघले होम डेलिभरी सुविधालाई व्यवस्थित बनाउन विभिन्न प्रतिबद्धतासमेत व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।