फाइल तस्बिर काठमाडौं- सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक (तलब) बढाएको छ। श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले आगामी साउन १ गतेबाट लागू हुनेगरी श्रमिकको न्यूनतम तलब बढाएको हो।
मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै श्रमिकको न्यूनतम तलब एक हजार ५५० रुपैयाँले बढाएको जानकारी दिएको छ। मन्त्रालयले श्रम ऐन २०७४ को दफा १०६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गर्दै श्रमिकको तलब बढाउने निर्णय गरेको हो।
मन्त्रालयले यसअघिको १३ हजार ४५० रुपैयाँ रहेको मजदुरको न्यूनतम पारिश्रमिक एक हजार ५५० रुपैयाँले बढाएर १५ हजार रुपैयाँ बनाएको हो।
यसअघि पूर्वश्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री गोर्कण विष्टले श्रमिकको तलब २०७५ असारमा बढाएका थिए। प्रत्येक दुई/दुई वर्षमा तलब बढाउने व्यवस्था भए पनि गत वर्ष कोरोना महामारीका कारण तलब बढाइएको थिएन। यस वर्ष भने कोरोना महामारी जारी रहे पनि मन्त्रालयले श्रमिकको न्यूनतम तलब बढाउने निर्णय गरेको हो।
यसैगरी मन्त्रालयले दैनिक ज्यालादारीको दर पनि बढाएको छ। मन्त्रालयले ५१७ रुपैयाँबाट बढाएर दैनिक ज्यालादारीको दर ५७७ रुपैयाँ बनाएको छ। यसैगरी प्रतिघण्टाको मूल्य पनि ६९ रुपैयाँबाट बढाएर ७७ रुपैयाँ बनाइएको छ।
यस्तो छ नयाँ तलबमान
अब प्रत्येक मजदुरले न्यूनतम १५ हजार रुपैयाँ तलब पाउने छन्। जसमा आधारभूत पारिश्रमिक नाै हजार ३८५ रुपैयाँ र महँगी भत्ता पाँच हजार ६१५ रुपैयाँ रहेको छ।
यसैगरी दैनिक ज्यालादारीमा काम गर्नेले आधारभूत पारिश्रमिक ३६१ र महँगी भत्ता २१६ गरी कूल ५७७ रुपैयाँ पाउने छन्। साथै, प्रतिघण्टाको आधारभूत पारिश्रमिक ४८ रुपैयाँ र महँगी भत्ता २९ रुपैयाँ गरी कूल ७७ रुपैयाँ पाउने छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।