काठमाडौं– लुम्विनी प्रदेश विवादमा एमाले बाहेका ४ दलले तत्काल अविश्वासको प्रस्ताव बारेमा निष्कर्ष निकाल्न प्रदेश सभाको विशेष अधिवेशन बोलाउनुपर्ने माग गरेका छन्।
सोमबार बसेको ४ दलको संयुक्त वैठकले ५ बुँदे निर्णय गरेको छ। संयुक्त वैठकले एमालेबाट राजीनामा दिएका दृगनारायण पाण्डेलाई राष्ट्रिय सभाको साझा उम्मेदवार बनाउनेदेखि मुख्यमन्त्री शंकर पोखरेललाई बहिस्कार गर्नेसम्मका निर्णय गरेको छ।
यस्तै, तत्कालीन नेकपाबाट निर्वाचित प्रदेश सभा सदस्य विमला खत्री वलीको किर्ते हस्ताक्षर गरी पोखरेलले बहुमत देखाएर मुख्यमन्त्रीको सपथ लिएकोले उनी अल्पमतमा रहेको र विपक्षी मोर्चा बहुमतमा रहेको दाबी पनि ४ दलले गरेका छन्।
प्रदेश प्रमुख धर्मनाथ यादवले स्वेच्छाचारिता देखाएको भन्दै उनलाई तत्काल वर्खास्त गर्न पनि ४ दलले माग गरेका छन्।
प्रदेश प्रमुख यादवले पदीय मर्यादा, जिम्मेजारी विपरीत गैरकानुनी र असंवैधानिक रुपमा अल्पमतमा रहेका पोखरेललाई मुख्यमन्त्रीको सपथ गराएको ४ दलको आरोप छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।