काठमाडौं- नेकपा (एमाले) को लुम्बिनी प्रदेश सांसदबाट राजीनामा दिएका दृगनारायण पाण्डेय नेपाली कांग्रेससहित चार पार्टीको तर्फबाट राष्ट्रिय सभाका उम्मेदवार हुने भएका छन्।
आइतबार एमाले सांसदबाट राजीनामा दिएका पाण्डेय अब हुने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार बन्ने भएका हुन्।
यसअघि प्रदेश सभा निर्वाचनमा हृदेश त्रिपाठी समूहबाट सूर्य चिन्ह लिएर कपिलवस्तु क्षेत्र नम्बर २ ‘क’ बाट निर्वाचित भएका थिए। त्रिपाठी स्वतन्त्र समूह भएपनि पाण्डेय एमाले प्रवेश गरेका थिए। मुख्यमन्त्री शंकर पोखरेलाई समर्थन गर्नुपर्ने अवस्था आएपछि उनले आइतबार सांसद पदबाट राजीनामा दिएका थिए।
अहिले कुनैपनि पार्टीमा नभएको बताउँदै पाण्डेयले राष्ट्रिय सभामा चार पार्टीको साझा उम्मेदवार भएको बताए। ‘अहिले कुनै पार्टीमा प्रवेश गरेको छैन। कांग्रेस, माओवादीसहित चार पार्टीको साझा उम्मेदवार छु’ नेपाल लाइभसँग कुरा गर्दै पाण्डेयले भने, ‘राष्ट्रिय सभामा निर्वाचित भएपछि कुन पार्टीमा जाने साथीहरूसँग सल्लाह गर्छु। त्यसपछि निर्णय हुन्छ।’
आफू मात्रै कुनै पार्टी प्रवेश नगर्ने बताउँदै पाण्डेयले पार्टी प्रवेश नै गर्नुपर्ने भएमा सबै साथीहरूसँग एकसाथ प्रवेश गर्ने बताए। पाण्डेयलाई यसअघि माओवादीको तर्फबाट राष्ट्रिय सभा सदस्य भएका चन्द्रबहादुर खड्काको ठाउँमा उम्मेदवार बनाइनेछ। खड्का एमाले प्रवेश गरेपछि उक्त पद रिक्त छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।