काठमाडौं- नेकपा (एमाले) की सांसद गंगा चौधरीले आफूले पार्टीं विरोधी कुनै गतिविधि नगरेको दाबी गरेकी छन्। पार्टी विरोधी गतिविधि गरेको भन्दै वैशाख १६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले चौधरीलाई स्पष्टीकरण सोधेका थिए।
चौधरीलाई १६ गते दिउँसो प्रधानमन्त्री ओलीको तर्फबाट एमाले कार्यालय सचिव शेरबहादुर तामाङमार्फत् भाइबरमा स्पष्टीकरण आएको थियो। उनले सोही दिन साँझ जवाफ दिएकी हुन्।
स्पष्टीकरण पत्रको जवाफ दिँदै चौधरीले आफूले जनताको बहुदलीय जनवाद र एमालेको पक्षमा 'चट्टानी अडान' राखेकोमा किन कारबाही गर्न लागेको भन्दै प्रतिप्रश्न गरेकी छिन्।
पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिनैपर्ने बाध्यता नभएपनि पत्रको अपमान नगर्न र जनतालाई आफ्नो कुरा स्पष्ट पार्न जवाफ दिएको उनले बताइन्। ‘स्पष्टीकरण पत्रमा उल्लेख भए जस्तो मैले पार्टी विरोधी कुनै गतिविधि गरेको छैन। गर्नेवाला पनि छैन’ चौधरीले भनेकी छन् ‘म सँधै जनताको बहुदलीय जनवाद र नेकपा (एमाले)को पक्षमा चट्टानी अडान राख्दै आएको इमान्दार कार्यकर्ता हुँ।’
आफ्नो विचार र दृष्टिकोण यसअघि समेत पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीलाई भेटेर स्पष्ट पारिसकेको उनले बताइन। ‘पार्टीको मुलधारमा रहेर जनताको बहुदलीय जनवाद, एमालेको हित र सुदृढिकरणमा आफ्नो सम्पूर्ण क्षमता लगाउने प्रण गर्दै कारबाही गर्नुपर्ने कुनै आधार र कारण नरहेको व्यहोरा अनुरोध गर्दछु’, चाैधरीको पत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।