काठमाडौं- युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा उपासना पौडेल नियुक्त भएकी छन्। यससँगै उनी उक्त कम्पनीको पहिलो महिला सीईओ बनेकी छन्।
कम्पनीले आगामी चार वर्षका लागि पौडेललाई नियुक्त गरिएको जानकारी दिएको छ। ३४ वर्षमै सीईओ बनेकी पौडेल सबैभन्दा कम उमेरकी सीईओसमेत बनेकी छन्।
यसअघि उनले निमित्त प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिइन्। सो पदमा रहेर पौडेलले गरेको कार्यसम्पादनमा सन्तुष्ट भएपछि उनलाई सीईओ नियुक्त गरिएको कम्पनीको भनाइ छ।
उनीसँग विगत एक दशकभन्दा बढी समयदेखि यस क्षेत्रमा काम गरेको अनुभव छ। उनले भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिजबाट एमबीए गरेकी छिन्।
‘कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्ष जनशक्तिबाट सम्भव हुने कुरामा विश्वास लिने उहाँ कर्मचारीको टिम वर्कलाई विशेष ध्यान दिनुहुन्छ। उहाँको आगमनसँगै कम्पनी निरन्तर अगाडि बढिरहेको अवस्थामा उहाँको प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्तिसँगै थप उचाइमा पुग्ने कुरामा विश्वास लिन सकिन्छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।