काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को बहुमत पक्षले नेपाली कांग्रेसका कारण प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव अघि नबढेको बताएको छ।
जसपाका एक शीर्ष नेताले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न कांग्रेस बाधक भएको बताए। कांग्रेस नै तयार नहुँदा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव अघि नबढेको ती नेताको भनाइ छ।
'प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने कुरा बहुमत सांसदले निर्णय गरिसक्यौं, अब कांग्रेस नै तयार छैन,' ती नेताले भने, 'पहिले कांग्रेसले संयुक्त सरकारको नेतृत्व लिन तयार छु तपाईहरु साथ दिनुस भन्यो, हामीले पार्टीमा छलफल गरेर बहुमत सांसदले अविश्वासको प्रस्तावको पक्षमा निर्णय गर्यौं, अहिले कांग्रेसले आनाकानी गरिरहेको छ।'
ओलीलाई हटाएर संयुक्त सरकार गठन गरी त्यसको नेतृत्व गर्न आग्रह गर्दा पनि कांग्रेस तयार नभएको ती नेताको भनाइ छ। कांग्रेसले नै संयुक्त सरकारको नेतृत्व लिन सक्रियता नदेखाएकाले ओलीलाई विस्थापित गर्न अविश्वासको प्रस्ताव अघि नबढेको ती नेताले बताए।
'हामीले निर्णय गरिसक्यौं, माओवादी अविश्वासको प्रस्तावको पक्षमा छ,' उनले भने, 'कांग्रेसले सक्रियता नदेखाएसम्म अविश्वासको प्रस्ताव अघि बढ्दैन।'
कांग्रेसले भने अविश्वासको प्रस्तावको लागि अंक गणित नपुगेको बताउँदै आएको छ। शुक्रबार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार बन्नलाई सांसद संख्या नपुग्ने भएकाले अविश्वासको प्रस्ताव अघि नबढेको बताएका थिए।
'सरकार बन्न अंकगणित पुग्दैन, खाली कांग्रेसले अविश्वास प्रस्ताव अघि बढाएन भन्नु हुन्छ,' पत्रकारसँग कुरा गर्दै देउवाले भनेका थिए, 'अहिले नै अविश्वास प्रस्ताव फेल भए एक वर्षसम्म लिन मिल्दैन, अनि अविश्वास प्रस्ताव लगेर मात्रै काम छैन।'
अहिलेको अवस्थामा कांग्रेसका ६१ जना, माओवादी केन्द्रका ४८ जना तथा जसपाका १८ जना गरी १२८ जना सांसद (मताधिकार प्रयोग गर्नसक्ने) मात्रै ओलीविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा उभिने अवस्था छ। अविश्वासको प्रस्ताव पारित हुन प्रतिनिधि सभामा हाल कायम सदस्य संख्याको बहुमत अर्थात् १३४ सांसद आवश्यक पर्छन्।
ओलीविरुद्धको अविश्वासको प्रस्ताव पारित हुन जनता समाजवादी पार्टी सबै ३२ जना सांसद भएमात्रै 'सुविधाजनक' बहुमत पुग्छ। तर, जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो पक्ष भने अहिले नै ओलीको विरुद्धमा जाने पक्षमा छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।