काठमाडौं– सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज –बैशाख १७) सेयर जारी गर्दैछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको हो।
कुल सेयरमध्ये ५० हजार ३६५ कित्ता शेयर कर्मचारीका लागि र १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ। बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
कम्पनीको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।
कम्पनीले लमजुङमा ४.४० मेगावटको राधी विद्युत् र ०.१८ मेगावटको स्यागे खोला जलविद्युत् आयोजना गरी २ वटा हाइड्रोपावर परियोजना सञ्चालन गरिरहेको छ।
साधारण सेयर निष्काशन गर्नु पहिले नै कम्पनीले देशव्यापी अभियानमार्फत ठूलो संख्यामा अग्राधिकार सेयर समेत बिक्री गरिसकेको छ।
सन् २००९ मा स्थापना भएको सीईडीबी हाइड्रोपावर लिमिटेडको चालु आर्थिक वर्षमा प्रति शेयर आम्दानी १३ रुपैयाँ ५ पैसा कायम गरेको छ । प्रति शेयर खुद सम्पत्ति १३८ रुपैयाँ ७९ पैसा रहेको कम्पनीले आर्थिक वर्ष २०७५/०७६ मा १०.५४ प्रतिशत र २०७६/०७७ मा ७.३७ प्रतिशत नगद लाभांश बितरण गरिसकेको छ।
साधारण शेयर बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० कायम हुनेछ ।
आईपीओमा सर्वसाधारणले छिटोमा वैशाख २१ सम्म र सो अवधिमा पूर्ण रूपमा बिक्री नभएमा वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।
न्यूनतम १० कित्तादेखि बढीमा मागेजति आवेदन दिन सक्नेछन् । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।