काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता झन्डै २ वर्षको जेल तथा हिरासत बसाइपछि रिहा भएका छन्।
संखुवासभा जिल्ला अदालतमा बिहीबार २५ हजार रुपैयाँ धरौटी बुझाएपछि लामा रिहा भएका हुन्।
२०७६ साउनमा भक्तपुरको एउटा घरमा सुतिरहेको अवस्थामा प्रहरीले लामालाई पक्राउ गरेको थियो। विप्लव नेकपाको तत्कालीन काठमाडौं उपत्यका इञ्चार्ज रहेका उनीविरुद्ध नख्खु कारागारमा भएको विस्फोट प्रकरणमा समेत मुद्दा चलाइएको थियो।
विभिन्न शीर्षकका मुद्दामा प्रतिवादी बनाइँदै आएका उनलाई पछिल्लो समय प्रहरीले संखुवासभा पुर्याएको थियो।
संखुवासभा अदालतले उनलाई यसअघि नै २५ हजार रुपैयाँ धरौटी लिएर रिहा गर्नू भन्ने आदेश सुनाएको थियो।
तर, लामा भने अरु कार्यकर्ता रिहा नभएसम्म आफू रिहा नहुने भन्दै धरौटी नतिरेर थुनामा नै बस्दै आएका थिए।
बिहीबार अदालतमा २५ हजार रुपैयाँ धरौटी बुझाएकाले छाड्नू भन्ने पत्र प्राप्त भएकाले लामालाई थुनामुक्त गरिएको जिल्ला कारागार कार्यालय संखुवासभाले जनाएको छ।
गत फागुन २१ गते सरकारसँग ३ बुँदे सहमति गरेपछि विप्लव नेतृत्वको नेकपा अहिले शान्तिपूर्ण राजनीतिमा छ।
विप्लव नेतृत्वको नेकपा र सरकारबीच भएको ३ बुँदे सम्झौतामा विप्लव नेकपाका नेता/कार्यकर्तामाथि लागेका मुद्दाहरु फिर्ता लिने विषय समेत समावेश भएको थियो।
सम्झौतापछि विभिन्न मुद्दामा थुना तथा प्रहरी हिरासतमा रहेका नेता/कार्यकर्ता रिहा भएपनि केही नेताहरु भने अझै थुनामै छन्। विप्लव नेकपाको केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओली (सुदर्शन)सहित केन्द्रीय सदस्य चूडामणि ओली, भरत बम लगायत केही नेताहरु अझै थुनामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।