काठमाडौं– गण्डकी प्रदेशका नवनियुक्त मन्त्री दिपक मनाङे भनेर चिनिने राजिव गुरुङले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि आफूसँग योजनाहरु रहेको बताएका छन्।
उनले आफूसँग विजनेश प्लान भएको बताउँदै अब युवाले विदेश जान नपर्ने बताए।
विहीबार मन्त्रीको शपथ लिएपछि पत्रकारहरुसँग कुरा गर्दै मनाङेले मन्त्रालय ठूलो बनाउनु भन्दा सानो सानो बनाएर प्रभावकारी काम गर्नुपर्ने बताए।
‘धेरै कुरा गर्नुपर्ने देश होइन, ४/५ वटा गर्ने अलि इफेक्टिभ्लि गर्ने । पुगिहाल्छ’ उनले भने।
उनले आफूले पहिलादेखि नै युवा र खेलकुदको क्षेत्रमा काम गरेको र सहज हुने भएकाले उक्त मन्त्रालयल रोजेको बताए ।
‘अहिले गएर अर्थ खोजेर के गर्नु, चार जना पीएचडी डक्टर चाहियो । युवा तथा खेलकुदमा पहिला देखिनै युथ रोजगार दिएको कुरा भयो । बिजनेश प्लानपनि छ । स्पोर्टका लागि टिम पनि राम्रो छ’ उनले भने।
आफूसँग भिजन भएको बताएका मनाङेले त्यसबारे खुलाउन भने चाहेनन्।
‘भिजन अलमस्ट रेडी छन्,’ पत्रकारले के के छन् भिजन भनि प्रश्न गर्दा उनले भने,‘अहिले भन्दिनँ । भोलि सबैलाई एक–एक कपि दिन्छु । त्यसमा चैं ५–६ किसिमका कुरा छन् । हाम्रो सरकारले युथहरूलाई सपोर्ट गर्नुपर्छ । त्यो भयो भने मान्छे विदेश जानु खासै पर्दैन क्या!’
मन्त्री बनेकोमा प्रफुल्लित देखिएका गुरुङले कस्तो अनुभव भइरहेको छ भन्ने पत्रकारको प्रश्नमा भने,‘मलाई त निन्द्रा लागि‘रा छ । सुत्न पाएको छैन क्या !’
बिहीबारै मन्त्रीमा नियुक्त भएका गुरुङलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन्।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दै मनाङेलाई मन्त्री नियुक्त गरेका थिए। नरदेवी पुनले सम्हाल्दै आएको सामाजिक विकास मन्त्रालयलाई फुटाएर गुरुङलाई मन्त्री बनाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।