काठमाडौं- कोरोनाले थिलथिलो बनेको काठमाडौं। कहिले लकडाउन त कहिले निषेधाज्ञाले उकुसमुकुस काठमाडौं। त्यसमाथि ठप्प आर्थिक गतिविधि। आर्थिक क्षेत्र नै डामाडोल हुँदा खेलकुदले पछिल्लो एक वर्ष खासै गति लिन सकेन।
एक वर्ष न मैदानमा खेलाडी रम्न पाए न उनीहरुसँग झुम्न नै पाए दर्शक। यो कालखण्ड खेलाडी र खेलप्रेमीका लागि साँच्चिकै पीडादायी रह्यो। कोरोना रोकिने क्रममा थिएन। त्यहीबीच आर्थिक कारण देखाउँदै आयोजकहरुले हात झिक्दा भटाभट रोकिन थाले आयोजना हुनलागेका प्रतियोगिताहरु। यस्तो बेला मारमा परे खेलकुदलाई नै आफ्नो ‘प्यासन’ बनाएका खेलाडी।
यस्तो जर्जर अवस्थामा खेलकुदका संघहरु भने मुक दर्शक थिए। उनीहरुले कोरोना कहर सकिएपछि खेलकुदलाई पुनः पहिलेकै गतिमा लैजाने भन्दै खेलप्रेमीलाई एक वर्ष थम्थम्याए। तर, खेलप्रेमी र समर्थकको प्रतीक्ष लामो जानेवाला थिएन। उनीहरुले सामाजिक सञ्जालदेखि जिम्मेवार निकायसम्मको ढोका ढकढक्याए।
अनि बल्ल उठ्यो नेपाल क्रिकेट संघ (क्यान)।
क्यान उठेसँगै क्रिकेट खेलाडी उठे। कोरोना कहरकै बीच पनि मैदान फेरि रम्न थाल्यो, बल र ब्याटमा। यही रंगमा रम्ने मौका पाए, क्रिकेटर कुशल भुर्तेल।
कुशल क्रिकेटमा नौलो नाम होइन। क्रिकेटप्रेमीमाझ् उनी परिचित नै थिए।
सानैदेखि बुबाको प्रेरण पाएका कुशल हातमा बल र ब्याट बोक्न थालेसँगै एकै वर्षमा नेपालको यू-१६ राष्ट्रिय टिममा परेका थिए।
खासमा उनका बुबा पनि क्रिकेटर नै हुन्। हालसालै ४५ वर्षमा टेकेका बुवा दीपक भुर्तेलले नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान राजु खड्कासँगै क्रिकेट खेलेका छन्।
तर, पारिवारिक समस्याले उनले आफ्नो क्रिकेट करिअरलाई सोचेअनुसार अगाडि बढाउन पाएनन्। बुटवल, मणिग्रामका दीपकका दुई छोरीसँगै तीन सन्तान छन्।
पारिवारिक अवस्था कमजोर भएकै कारण उनले देशका लागि खेल्ने सपना पूरा गर्न सकेनन्। परिवार चलाउन उनी विदेश भासिए। त्यो उनका लागि निकै कष्टकर समय थियो।
क्रिकेटको भोकसँग सपना साटेका उनी ३ वर्ष दक्षिण कोरिया बसे। सन् २०११ मा नेपाल फर्किएका उनको खेल्ने उमेर गइसकेको थियो। त्यसबेला उनी ३५ वर्ष पुगिसकेका थिए।
गाउँको मैदान उनका लागि अपरिचित बनिसकेको थियो। बल र ब्याटले पनि मुख फेरिसकेका थिए। त्यसैले उनको सपनामाथि त्यहीँ पूर्णविराम लाग्यो।
तर, उनमा एक किसिमको भोक थियो, नेपाली क्रिकेटमा केही न केही योगदान दिने। त्यसैले चुने दीपकले कुशललाई।
कुशल शुरुदेखि क्रिकेट खेलाडी भने होइनन्। उनी फुटबल खेल्थे। गाउँमा हुने विद्यालयस्तरीय प्रतियोगितादेखि केही ठूला प्रतियोगितामा उनले नाम चम्काइ सकेका थिए।
उनी फुटबललाई ‘प्यासन’ बनाउन चाहन्थे, त्यसमै करिअर बनाउन चाहन्थे। ‘खेलकुद भनेपछि मेरो हुरुक्कै हुने बानी थियो। त्यसमा फुटबल। कसैले खेल्न जाउँ भन्यो भने म फुरुंग परेर जान्थेँ। दाइहरुले जहाँ लानुहुन्थ्यो, त्यहाँ गएर खेल्थेँ,’ कुशलले भने।
तर, उनको यो यात्रा भने लामो समय अगाडि बढ्न सकेन। किनभने यसमा उनले बुबाको साथ पाएनन्। भनिन्छ, सहयात्रीबिना लक्ष्य पुरा गर्न सकिँदैन। यस्तै भयो कुशललाई। बुबा उनलाई क्रिकेटर बनाउन चाहन्थे। बुवाकै कारण उनले फुटबललाई माया मारेर ब्याटसँग प्रेम गर्न थाले।
कुशलले ब्याट समाउन थालेको केही दिनमै बुवा फेरि मुग्लान पसे। भारत बस्न थालेका उनी कुशलसँग टाढा भए। उनलाई चिन्ता थियो- छोराले समातेको बाटो।
परदेशको बसाई, मनमा पिरैपिर। खासै सम्हालिएर त्यहाँ बस्न सकेनन् दीपक। उनी बेलाबेलामा बुटवल फर्किरहन्थे।
संयोग, त्यही वर्ष भारतले क्रिकेट विश्वकपको उपाधि जित्यो। त्यसले दीपकलाई हौस्यायो। उनी घर फर्किए। भारतीय क्रिकेट टिमको समर्थकसमेत रहेका उनी नेपालमै केही गर्नुपर्छ भन्ने अठोटसहित क्रिकेट ब्याट लिएर फर्केका थिए।
‘भारतले विश्वकप जितेसँगै बुवा फर्कनु भो। त्यहाँ क्रिकेटको क्रेज धेरै भएकाले होला, बुवालाई यसमा खुबै लगाव थियो। त्यसैले पनि उहाँ मलाई क्रिकेटर बनाउन पूरै लागिपर्नु भो’, कुशलले भने।
अनि मोडियो बाटो
नेपाल फर्किएको केही दिनपछि दीपकले विद्यालयमा क्रिकेट प्रशिक्षण दिन थाले। उनीसँगै मैदानमा उत्रिए कुशल। कुशललाई ब्याटसँग परचित हुन समय लागेन। उनी खुब जमे। विद्यालयस्तरीय प्रतियोगितामा पनि उनले भाग लिने मौका पाए। त्यसपछि हरेक खेलमा कप्तानीसमेत गर्ने मौका पाएका कुशलले आफ्नो प्रभाव जमाउन थाले।
‘
खेल्दै जाँदा राम्रो गर्न थालेँ। अनि क्रिकेट लतजस्तो बन्यो’, कुशल भन्छन्, ‘क्रिकेटमै भविष्य देख्न थालेपछि म यसैलाई अगाडि बढाउने सोचमा लागेँ।’
दीपक पूर्वराष्ट्रिय टोलीका केही सदस्यसँग परिचित भएकाले पनि हुनसक्छ, कुशलले जिल्लास्तरीय प्रतियोगिता हुँदा त्यसको एक वर्षमै नेपाली टोलीमा स्थान बनाए।
कुशलले २०१२ मा राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्। उनको पहिलो प्रतियोगिता थियो, मलेसियामा आयोजना भएको यू-१६ एसीसी एलिट कप। अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो पहिलो खुड्किलो थियो। प्रतियोगिताको कतारविरुद्धको पहिलो खेलमै उनले ‘डेब्यू’ गरे।
गाउँमै चम्किएका कुशललाई मलेसियामा चम्किन पनि समय लागेन। उनले पहिलो खेलमै ३५ रन बनाए। तर, उनले दोस्रो खेल भने खेल्न पाएनन्। बहराइनसँगको खेलको ठीक अगाडि कहानी अर्कै बन्यो।
टस हुनुअघि फिल्डिङ प्रशिक्षण भइरहेको थियो। ‘वार्मअप’का क्रममा ‘बाउन्ड्री लाइन’मा अल्झिएर लडेपछि उनको दाहिने हात भाँच्चियो। त्यो दुर्घटनापछि प्रतियोगिताका बाँकी खेल खेल्नै नपाई उनी नेपाल फर्किए।
‘त्यतिखेर अलि-अलि दुखेको जस्तो भएको थियो। म पछाडि क्युमा गएँ र थ्रो फाल्दा एकदमै दुख्यो। टस हुन ५ मिनेट अगाडि मात्र मलाई अस्पताल लगिएको थियो, मैदान फर्किंदा मेरो हातमा प्लास्टर थियो,’ कुशल सम्झन्छन्, ‘म एक खेल मात्र खेलेर नेपाल फर्किएँ। ३-४ महिना त्यही हातको चोटका कारण खेल्न नसक्ने भएँ।’
कुशलको अनुपस्थितिमा नेपाली टिमको प्लेइङ सेट परिवर्तन भयो। उनको स्थानमा रविन गुप्ताले मौका पाए। टोलीले अजय सहानीलाई नेपालबाट मलेसिया बोलायो। त्यो प्रतियोगितामा नेपाल उपाधिसहित घर फर्किएको थियो।
एसएलसी सकिएसँगै कुशल चोटमुक्त भए। त्यसको केही समयपछि घरेलु प्रतियोगितमा फर्किए। उनले नेपाल प्रिमियर लिग (एनपीएल)मा स्थान पनि बनाए। तर, त्यसमा पनि ‘अभागी’ ठहरिए उनी।
‘
कक्षा ११ को परीक्षा थियो, त्यसबेला परीक्षा छाडेर खेल्न त गएँ तर, मौका भने पाइनँ,’ उनले भने।
उनको टोलीले भने प्रतियोगिता जित्यो। तर, कुशल हतास भएनन्। मिहिनेत गर्दै गए।
मिहिनेतकै कारण तीन वर्षमै यू-१९ राष्ट्रिय टोलीमा स्थान बनाए। २०१५ मा मलेसियामा यू-१९ विश्वकप छनोट प्रतियोगिता थियो।
‘विश्वकप खेल्ने टोलीमा छनोट भएँ। तर, प्रतियोगिताभरि एउटा खेल पनि खेल्ने अवसर पाइनँ। सबै खेल बेन्चमै बसेर हेरेँ,’ उनी सम्झन्छन्। त्यसको एक वर्षपछि पुनः उनले राष्ट्रिय टोलीमा स्थान बनाए।
त्यसपछि उनी विभागीय क्लब, नेपाल पुलिसमा आवद्द भए। पुलिसबाट खेल्न थालेपछि उनले कहिल्यै पछाडि फर्किएर हेर्नु परेन।
त्यसको केही महिनामै उनले २०१६ मा बंगलादेशमा आयोजना भएको आईसीसी यु-१९ विश्वकप खेले। तर, त्यहाँ सौरभ खनाल घाइते भएपछि मात्र उनले मौका पाएका थिए।
हामी भारतको धर्मशालामा तयारी गर्दै थियौं। सौरभ दाइलाई घुँडामा चोट लागेको थियो। विश्वकप खेल्ने सबैको इच्छा हुन्छ, म खुसी थिएँ,’ उनले भने। तर, सौरभको चोटले दुःखी बनाएको कुशल बताउँछन्।
‘खुसीका साथसाथै दुःख पनि थियो,’ उनले भने, ‘सिधा टिममा पर्नु र घाइते खेलाडीको स्थान लिनुमा ठूलो भिन्नता छ, त्यही भएर म धेरै नै खुसी पनि थिइनँ।’
विश्वकपमा कुशलले न्युजिल्याण्डविरुद्ध अविजित ३५ रनको पारी खेले। त्यो बेला उनी तल्लो क्रमका ब्याट्सम्यान थिए, अर्थात् ७/८ नम्बरमा ब्याटिङ गर्थे। नेपाल क्वार्टरफाइनलमा आयोजक बंगलादेशसँग पराजित हुँदै घर फर्कियो।
आफूलाई सावित गर्ने लामो पर्खाई
बंगलादेशबाट फर्किएपछि कुशलले पुलिस क्लबसँगै फ्रेञ्चाइज क्रिकेटका टिमबाट खेले। पुलिसबाट खेल्न थालेसँगै उनको खेलमा सुधारिएको थियो। तर, उनको यात्रा भने सोचेजस्तो सुखद् हुन सकेन।
कहिले ओपनिङमा त कहिले मध्यक्रमको ब्याटिङ जिम्मेवारी उनले बहन गरे। तर, ब्याटिङ ‘पोजिसन’ एकनासको हुन नसक्दा उनले सोचेअनरुप प्रदर्शन गर्न सकेनन्।
त्यही पनि उनी ‘फ्रेञ्चाइज’ क्रिकेट प्रतियोगितमा व्यस्त भए।
उनले ललितपुरबाट एभरेस्ट प्रिमियर लिग (इपीएल), पोखराबाट पोखरा प्रिमियर लिग (पीपीएल) र विराटनगरबाट धनगढी प्रिमियर लिग (डीपीएल) खेले।
मध्यक्रममा सफलता नपाएका कुशलको प्रतिभालाई चिन्ने काम भने पोखराका कप्तान रहेका शरद भेषावकरले गरे। पीपीएलमा उनले कुशललाई प्रारम्भिक ब्याट्सम्यानको रूपमा अगाडि ल्याए। तर, उनको प्रदर्शन भने औसत नै रह्यो।
फ्रेन्चाइज क्रिकेटमा ओपनिङ गर्न थालेपछि आफ्नो ब्याटिङ स्किलमा सुधार भएको उनी मान्छन् कुशल। टी२० मा होस् वा ५० ओभर, उनलाई ओपनिङमै ब्याटिङ गर्न सहज लाग्थो। तर, मौका भने दिइँदैनथ्यो।
त्यही पनि उनको नाम राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा हरेक पटक त हुन्थ्यो। तर, अन्तिम छनोटमा उनको नाम हुँदैनथ्यो।
‘केही दिन बन्द प्रशिक्षणमा रहेर अन्तिममा टोलीमा नाम नै नहुने भएपछि म निराश पनि भएँ, क्रिकेट नै छाडिदिउँ कि जस्तो पनि भयो। तर, बुवाको सपनाले गर्दा बिचैमा छाड्न भने सकिनँ,’ उनले भने।
निकै कडा मिहिनेतपछि उनी २०१९ को इमर्जिङ नेसन्स कपमा बल्लतल्ल टिममा परे। फेरि पनि सम्झन लायक प्रदर्शन गर्न भने उनले सकेनन्।
‘राष्ट्रिय टिममा पर्न निकै संघर्ष गरेको थिएँ। तर, सोचेजस्तो खेल भने देखाउन सकिनँ,’ कुशल स्वीकार्छन्, ‘पुनः हार खाएँ। साथीहरुलाई क्रिकेट छाड्छु पनि भनेँ। तर छाड्न सकिनँ।’
उनको दुःख बिसाउने चौतारी थिए बुवा दीपक। उनले बुवालाई पनि क्रिकेट नखेल्ने निर्णय नसुनाएका भने होइनन्।
‘
सोचेजस्तो खेल देखाउन नसक्दा अब राष्ट्रिय टोलीमा पर्दिनँ जस्तो लाग्थो। तर, बुवाले हरेकपल्ट ढाडस दिनुहुन्थ्यो। समय आएपछि केही गर्छस्, हार नमान् भन्नुहुन्थ्यो,’ उनी भन्छन्।
उनले बुवाकै हौसलाका कारण मिहिनेत गर्न छाडेनन्। सोही साल नेपालमै आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकुद (साग) मा कुशलले पुनः राष्ट्रिय टोलीमा स्थान बनाए। तर, मौका नपाउँदा उनी बेञ्चमै सीमित भए।
‘भुटान र माल्दिभ्ससँगको खेलमा मौका पाएको भए मेरो ट्वान्टी-२० अन्तर्राष्ट्रियमा डेब्यु त्यतिखेर नै हुन्थ्यो। तर, कुनै खेलमा मौौ पाइनँ। टिमभित्र धेरै प्रतिस्पर्धा थियो, साग ठूलो इभेन्ट पनि थियो। त्यसमा दुःख मान्नुपर्ने भने केही थिएन,’ कुशलले भने।
त्यसपछि उनले मिहिनेत जारी राखे। साँच्चै भन्ने हो भन्ने उनी एक मौकाको पर्खाइमा थिए।
त्यसपछि उनले दुई वर्ष ब्याट घुुमाउन पाएनन्। भन्छन् नि, समय आएपछि भगवानले पनि पुकार सुन्छन्। त्यस्तै भयो कुशललाई। उनले दुई वर्षपछि पुनः राष्ट्रिय टिममा जबरजस्त ‘इन्ट्री’ गरे।
भर्खरै सम्पन्न त्रिदेशीय सिरिजमा उनले बुवासँगै ११ वर्षदेखि घरेलु भूमिमै प्रतियोगिता जित्ने नेपाली टोलीको सपनासमेत पुरा गरे।
नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित सिरिजमा उनले कुल ५ खेलमा ४ अर्धशतकसहित २ सय ७८ रन बनाए।
डेब्यू खेलमै कुशलले आसिफ शेखसँग मिलेर कीर्तिमानी साझेदारी गरे। उनीहरुले नेदरल्यान्ड्सविरुद्ध १ सय १६ रनको ओपनिङ साझेदारी गर्दै पहिलो विकेटका लागि सर्वाधिक रनको विश्व कीर्तिमान बनाए।
त्यो खेलमा कुशलले ४६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६२ रन बनाए।
कुशलको यो सुरुवात मात्र थियो। उनले त्यसपछिका दुई खेलमा क्रमशः मलेसिया र नेदरल्यान्ड्सविरुद्ध पनि अर्धशतक पुरा गरे। र, डेब्यूसँगै लगातार चार टी२० अन्तर्राष्ट्रियमा अर्धशतक पुरा गर्ने विश्वकै पहिलो खेलाडी बने। लिग चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध उनले १२ बलमा १६ रन बनाए।
यस्तै, नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा उनले ५३ बलमा ८ चौका र ३ छक्कासहित ७७ रन बनाए।
‘यस्तो दिनका लागि मैले तयारी गरेको थिएँ। कुनै एउटा शृंखला होस्, त्यसमा म डेब्यू गरौं भन्ने थियो। अहिले भएको त्यही हो,’ कुशलले भने।
यसपटक भने उनलाई ‘भाग्य’ले पनि साथ दियो। पूर्वकप्तान पारस खड्का चोटले प्रतियोगिता सुरु हुनुभन्दा ठीक अगाडि टिमबाट बाहिरिएपछि उनी प्लेइङ ११मा परेका थिए।
‘मैले क्याम्पमा राम्रै गरेको थिएँ। पारस दाइ खेल्नुभएको भए म र आसिफ शेखमध्ये एकजना प्लेइङ ११ बाट बाहिर हुन्थ्यौं होला। व्यवस्थापनले म र आसिफमध्ये एकलाई खेलाउँथ्यो होला।’
डेब्यू खेलमा भने आफू नर्भस नभएको कुशल बताउँछन्। ‘उमेर समूह र राष्ट्रिय टोलीबाट खेल्दा धेरै फरक हुने रहेछ। डेब्यू म्याचमा बिना प्रेसर खेलेँ। त्यो खेलमा राम्रो गरेपछि सबैले ममाथि धेरै आशा गरे। बाँकी केही खेलमा दबाब झेलेँ,’ उनले भने। तर, आफूले यत्तिको प्रदर्शन गर्न सकिएला, कीर्तिमान बनाउँला भनेर नसोचेको उनी बताउँछन्।
‘अहिले त सपना जस्तो लागिरहेको छ। एक साता अगाडि केही थिइनँ। अहिले मेरो नाममा केही कीर्तिमान जोडिएका छन्, बुवाको सपना, ममाथि टोलीले गरेको विश्वासलाई न्याय गरें झैं लागिरहेको छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।