काठमाडौं- निर्वाचन आयोगले जेठ ६ गते हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचनका लागि दर्ता हुन आएका पाँच दललाई निर्वाचन चिह्न प्रदान गरेको छ। निर्वाचन प्रयोजनका लागि नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गरी पाँच दल दर्ता भएको आयोगले विज्ञप्तिमार्फत् जनाएको छ।
‘राजनीतिक दलको नामावली राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्ने र दल दर्ता गर्ने राजनीतिक दललाई निर्वाचन चिन्ह निर्धारण गरी प्रदान गर्ने निर्णय गरेको छ’, बिहीबार आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई सूर्य चिन्ह र क्रम १, नेपाली कांग्रेसलाई रुख चिन्ह क्रम २, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई गोलाकारभित्र हँसिया हथौडा चिन्ह र क्रम ३, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो चिन्ह र क्रम ४ तथा नेपाल मजदुर किसान पार्टीलाई मादल चिन्ह र क्रम ५ को मतपत्रमा समावेश गर्ने निर्णय पनि आयोगले गरेको छ।
राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि प्रदेश सभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जना गरी जम्मा ३४८ जना मतदाताको नाम समावेश गरी तयार गरिएको मतदाता नामावली स्वीकृत गर्ने निर्णय पनि आयोगले गरेको छ।
‘स्वीकृत भएको मतदाता नामावली मिति २०७८/१/२१ गते बिहान ११ बजे निर्वाचन अधिकृतको कार्यालय, हेटौंडामा प्रकाशन गर्ने र प्रकाशित मतदाता नामावलीमा सोही दिनको बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म नाम समावेश हुन छुटेको व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि दरखास्त दिने, मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिले आफ्नो नाम, थर, उमेर, पद आदि विवरण सच्याउन दरखास्त दिने, मतदाता नामावलीमा उल्लिखित मतदाताको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरेको छ’, विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।