काठमाडाैं- नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को चौथो संस्करण नेट टिभीबाट अवलोकन गर्न सकिने भएको छ। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले वार्षिक रुपमा आयोजना गर्ने निफको यो संस्करण कोभिड-१९ ले गर्दा भर्चुअल गर्न लागिएको हो।
महोत्सवको प्रोमो सार्वजनिक गर्दै आयोजकले नेट टिभीबाट महोत्सव प्रसारण गर्ने जानकारी दिएको हो। वैशाख २३ देखि २७ गतेसम्म आयोजना हुने भर्चुअल महोत्सवमा अवलोकनकर्ताले टिभीबाटै छनोटमा परेका फिल्म हेर्न पाउनेछन्।
'विश्वका कथाहरूको उत्सव 'नाराका साथ हुने महोत्सवमा महामारीका विषयमा बनेका फिल्मलाई समेत फरक विधा बनाएर प्रतिस्पर्धा गराइएको छ। कोभिडको प्रभावबारे बनेको फिल्मले ५ सय अमेरिकी डलर र ट्रफी पाउनेछ।
अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड दिने चलन छ। निफले सार्वजनिक गरेका तीन विधामा १० सदस्य जुरीमध्ये नेपालबाट तुलसी घिमिरे र छिरिङ रितार शेर्पा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।