काठमाडौं– राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्ना सांसद खिमविक्रम शाहीलाई सरकारले बन्दी बनाएको आरोप लगाएको छ।
अस्पतालमा शाहीलाई भेट्न नदिएको भन्दै जनमोर्चाले राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा कोरोनाको रिपोर्ट नेगेटिभ आएकोमा पुनः कसरी पोजेटिभ आयो भन्दै प्रश्न गरेको छ?
जनमोर्चाले विहीबार एक विज्ञप्ति जारी गर्दै एमालेको मुख्यमन्त्रिलाई समर्थन गर्ने नीति नभएको बताएको छ।
विज्ञप्तिमा भनिएको छ,‘‘गण्डकी प्रदेशका सांसदहरुको स्वाब परीक्षण गर्दा उहाँको पीसीआर रिपोर्ट नेगेटिभ आएको सार्वजनिक भएको थियो । त्यसपछि अकस्मात उहाँको रिपोर्ट पोजेटिभ आएको र अस्पताल भर्ना भएको भन्ने कुरा थाहा हुन गएको छ । सरकारी प्रयोगशालामा जाँच गर्दा नेगेटिभ आएको रिपोर्ट आएको व्यक्तिलाई अकस्मात कसरी पोजेटिभ आयो ? यो कुरा बुझ्न हामी असमर्थ छौं’ जनमोर्चा उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
अस्पतालमा शाहीलाई कसैसँग भेट गर्न नदिएको र बन्दीको रुपमा राखिएको आरोप जनमोर्चाले लगाएको छ।
'उहाँलाई भेट गर्न दिइएको छैन । उहाँलाई एक प्रकारको बन्दीका रुपमा किन राखियो र त्यसको कारण के हो ? उहाँको स्थिति सार्वजनिक गर्नका लागि सरकारसित अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।