काठमाडौं– मुख्यमन्त्रीविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि मतदान हुने दिन आफ्ना सांसद गायव भएको घटनाप्रति राष्ट्रिय जनमोर्चाले छानबिन गर्ने भएको छ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदको हस्ताक्षरमा मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि मतदान हुने दिन बुधबार जनमोर्चाका १ जना सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएका थिए।
प्रदेशसभा बैठकमा उपस्थित नभएका उनको मोबाइल समेत अफ भएको देखिएपछि विपक्षी पार्टीका सांसदहरुले खोजी समेत गरेका थिए। तर, उनी फेला नपरेका जनाइएको छ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीका सांसद हराएको विषयमा छानबिन हुने बताए। नेपाल लाइभसँगको कुराकानीमा अध्यक्ष केसीले अहिले पार्टीको गण्डकी प्रदेश कमिटीसँग घटनाबारे बुझ्ने काम भइरहेको बताए।
'सांसद शाही किन हराउनुभयो, कसरी अस्पताल पुग्नुभयो र के कारण थियो ? त्यसबारे छानबिन हुन्छ,' केसीले नेपाल लाइभसँग भने।
शाही हराएपछि राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलले आफ्नो पार्टीका संसदलाई बेपत्ता पारिएको भन्दै बैठकको कारबाही स्थगित गर्न माग गरेको थियो।
जनमोर्चाको मागअनुसार गण्डकी प्रदेश सभाको अधिवेशन अनिश्चितकाल (अर्को सूचना जारी नभएसम्म)का लागि स्थगित भएको छ।
भोटिङको समयमा वेपत्ता भएका शाही भने चरक अस्पतालको कोभिड १९ को आईसीयुमा फेला परेका जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।