काठमाडौं- गण्डकी प्रदेश सभा अनिश्चितकालका लागि स्थगित भएपछि नेकपा (एमाले)ले असन्तुष्टि व्यक्त गरेको छ। एमालेका प्रदेश सभा सदस्य कृष्ण थापाले कुनै दलको पक्षपोषण गरेर सभामुखले आफूखुशी बैठक स्थगित गरेको आरोप लगाए।
‘कुनै दलको पक्षपोषण गरेर होला, उहाँले आफूखुशी यो सूचना टाँसेको यहाँ देखिएको छ। यो संसदीय मर्यादा, हाम्रो कार्यव्यवस्थाको अहिलेसम्मको चलनचल्तीको विपरीत छ। सभामुखले जुन घटना घटनाउनुभएको छ, त्यसको जिम्मा सभामुखले लिनुपर्छ’, उनले भने।
उनले आफूहरूलाई थाहै नदिइकन बैठक स्थगित गरेको आरोप पनि लगाए। बुधबार बसेको पहिलो बैठकमा प्रदेश सभा सदस्यहरूले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि परेको अविश्वास प्रस्तावमाथि छलफल गरेका थिए।
दोस्रो बैठकमा मुख्यमन्त्री गुरुङले अविश्वासको प्रस्तावमा उठेका प्रश्नमाथि जवाफ दिने र मतदान गर्ने कार्यक्रम थियो। तर, सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा बैठक नै अनिश्चितकालका लागि स्थगित गरिदिए।
निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाका एक जना सांसद् खिमविक्रम शाही बैठकमा अनुपस्थित रहेका थिए। त्यसपछि राजमोकी सचेतक पियारी थापाले सदन रोक्न माग गर्दै सभामुखलाई निवेदन दिएकी थिइन्। सोही आधारमा सभामुखले बैठक स्थगित गरिदिएका हुन्।
थापाले मुख्यमन्त्रीको विरोधमा राखिएको अविश्वासको प्रस्तावमा राजमोले समर्थन जनाइरहेको सन्दर्भमा सदनमा मतदानको परिस्थिति बनेको दिन आफ्नो पार्टीको प्रदेश सभा सदस्य शाहीको अवस्था अज्ञात रहेको निवेदन गण्डकी प्रदेशका सभामुख समक्ष पेश गरेकी छिन्।
‘उहाँको अवस्था सार्वजनिक गर्न, निजको जीवन रक्षा गर्न र निज सार्वजनिक नभएसम्म सदनको कारबाही नचलाइयोस् भन्ने विनम्र अनुरोध गर्दछु’, निवेदनमा भनिएको छ।
‘यस विषम परिस्थितमा निवेदनमाथि सम्बोधन नगरी सदन सञ्चालन गर्न उपयुक्त नभएकोले अर्को सूचना नभएसम्मका लागि गण्डकी प्रदेश सभाको आजको बैठक स्थगित भएको व्यहोरा सूचीत गरिन्छ’, प्रदेश सभा सचिव हरिराज पोखरेलले जारी गरेको सूचनामा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।